• गोरखा सैनिकप्रतिको विभेद अन्त्य गर्न माग

  • काठमाडौं, माघ २५ : सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसद योगेश भट्टराईले गोरखा सैनिकप्रति भएको विभेदको  समाधान खोज्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

    प्रतिनिधसभाको विशेष समयमा उनले विश्वमा गोरखा सैनिकले पुर्‍याएको योगदान स्मरणीय रहेको बताए । सांसद भट्टराईले बेलायतले गोरखा सैनिकसँग गरेको सम्झौता कार्यान्वयनमा ढिलाइ गरेको बताउँदै बेलायती सेना र गोरखाली सेनालाई उपलब्ध गराउँदै आएको  सुविधामा विभेद भएको बताए ।  

    सांसद डिला सङ्ग्रौला र भीमसेनदास प्रधानले नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयेलाका सन्दर्भमा व्यक्त गरेको धारणा सम्बन्धमा संसद्लाई जानकारी दिन सरकारको ध्यानाकर्षण गराए ।

    त्यसैगरी, हृदयेश त्रिपाठीले ऊखु किसानलाई दिन बाँकी रहेको पुरानो बक्यौता भुक्तानी, सांसद गणेशकुमार पहाडीले सिन्धुली जिल्लाको फिकलमा जीप दुर्घटना भई मृत्यु हुनेलाई क्षतिपूर्ति र घाइतेको उपचारमा सहयोग र पार्वती विसुन्खेले–जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।

    मन्त्री अर्याल–जवाफ

    यसैगरी आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले तीनै तहको सरकारसँग समन्वय गरी सरकार अघि बढिरहेको जानकारी दिईन् । भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासको समस्या समाधान  गर्न सरकारले लगत सङ्कलन गरिरहेको उनले बताईन ।

    बैठकमा सांसद खगराज अधिकारी, गगनकुमार थापा, शान्ता चौधरी, महेशराज गहतराज, सञ्जयकुमार गौतम र भरतकुमार शाहले भूमिहीन, सुकुम्वासी समस्या समाधान गर्न सरकारको योजना के छ भनी पुरक प्रश्न गरेक थिए ।

    सांसदहरूले संसद्मा राखेका पुरक प्रश्नको जवाफमा मन्त्री अर्यालले  संविधानले निर्दिष्ट गरेको बाटोमा सरकार नअलमलिएको जिकिर गरिन् ।

    कर्मचारी समायोजन विधेयक प्रस्तुत

    बैठकमा ‘कर्मचारी समायोजन विधेयक, २०७५’ प्रस्तुत भएको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ प्रस्तुत गरे ।

    विधेयक प्रस्तुत गर्दै मन्त्री अधिकारीले समायोजन हुँदा सङ्घमा बढी कर्मचारी हुने र तल कम हुने विषयमा सरकार गम्भीर रहेको उल्लेख गरे । ‘कर्मचारी समायोजन विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

    सभामुख कृष्णबहादुर महराले बैठक आजै १५ मिनेटका लागि स्थगित गरेका छन् ।

  • कमेन्ट गर्नुहोस्