• शाखा अधिकृतको समायोजन

  • काठमाडौं, फागुन ६ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ ।

    सङ्घ, प्रदेश र स्थानीय तहमा करिब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार प्रशासन, लेखा, राजश्व र शिक्षा सेवाको शाखा अधिकृतलाई समायोजन गरिएको छ ।

    सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको हो ।

    यसअघि मन्त्रालयले सचिव, सहसचिव र उपसचिवलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । ६ सय ६२ सहसचिवमध्ये सङ्घमा ५ सय ६० र प्रदेशमा १ सय २ तथा उपसचिवमध्ये सङ्घमा ८ सय ३६, प्रदेशमा आठ र स्थानीय तहमा चारको समायोजन गरेको थियो ।

    मन्त्रालयले यही फागुन ३ गते समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने तापनि प्राविधिक कारण त्यो हुन नसकेको हो । प्रवक्ता अधिकारीका अनुसार कृषि, वन, स्वास्थ्य र इञ्जिनीयर सेवाको शाखा अधिकृतको समायोजन गर्न भने बाँकी छ ।

    सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फारम भर्ने समयसीमा तोकेको थियो । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

  • कमेन्ट गर्नुहोस्