• माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई पक्रन आदेश

  • माले, माल्दिभ्स, माघ ७ : माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सोमबार पक्राउ गर्न आदेश दिइएको छ ।

    सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोगमा उनलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरूले जनाएका छन् । माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भीक सुनुवाइमा नै उनले सम्पत्ति शुद्धिकरण गरेको देखिएकाले पक्राउ गर्न आदेश दिएको समाचारमा उल्लेख छ । 

    राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिनुअघि उनले दश लाख ५० हजार डलर सम्पत्ति शुद्धिकरण गरेको अभियोग लगाइएको छ । उनलाई पक्राउ गर्न आदेश दिने अदालतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “शक्ति र पदको दुरूपयोग गरेर यमिनले सम्पत्ति शुद्धिकरण सम्बन्धी अवैध काम गरेको प्रमाण र आधारहरू पेस भएका छन् ।”

    राजधानी नजिकै रहेको धुनिधु कारागारमा उनलाई राख्न सकिने पनि अधिकारीहरूले जानकारी दिएका छन् । माल्दिभ्समा निकै प्रभावशाली नेता मानिने यमिन सन् २०१३ देखि शक्तिमा आएका थिए । त्यसपछि उनले आफ्ना विपक्षीहरूलाई अनेक अभियोग लगाउँदै कारागार पठाउन लगाए । 

    आफ्नो कार्यकालमा चीनसँग राम्रो सम्बन्ध बनाएका यमिनविरूद्ध अन्य अभियोग पनि लगाइएको छ । तर पूर्वराष्ट्रपति यमिनले भने आफूविरूद्धका सबै आरोपको खण्डन गर्दै आएका छन् ।

    चोरी, घुस र आर्थिक अपचलन सम्बन्धी ठूलो अभियोग लगाउँदै केही दिन पहिले उनी विरूद्ध प्रहरीले महान्याधिवक्ताको कार्यालयमार्फत मुद्दा दर्ता गरेको थियो । नयाँ राष्ट्रपति इब्राहिम सोलिह नेतृत्वको सरकारले केही हप्ता अघि वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति यमिनको कार्यकालमा भएका अनियमितता वा राज्य शक्तिको दुरूपयोगसम्बन्धी कुनै विवरण वा प्रमाणहरू भएमा उपलब्ध गराउन आह्वान गरेको थियो ।

    वक्तव्यमार्फत गरिएको आह्वान अनुसार प्राप्त अनियमिततासम्बन्धी केही विवरणहरू राष्ट्रपतिको कार्यालयले गत जनवरीको सुरूमै सार्वजनिक गरेको थियो । गत सेप्टेम्बर २३ मा भएको निर्वाचनबाट सोलिह राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    अहिले भ्रष्टाचारको अभियोग लागेका पूर्वराष्ट्रपति यमिनले भने निर्वाचनमा धाँधली भएको भन्दै सुरूमा मतपरिणाम अस्वीकार गरेका थिए । अदालतको फैसलापछि मात्रै उनले आफ्नो पराजयलाई स्वीकार गर्दै राष्ट्रपतिको पद हस्तान्तरण गरेका थिए ।

    सानो एशियाली मुलुक माल्दिभ्समा पछिल्लो समय प्रतिशोधको राजनीति हावी हुँदै गएको देखिएको छ ।

  • कमेन्ट गर्नुहोस्