• गैरआवासीय नेपालीलाई राष्ट्रिय परिचयपत्र नदिन सुझाव

  • काठमाडौं, फागुन ९ : गैरआवासीय नेपाली र विदेशीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्न नहुने सुझाव दिइएको छ ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण व्यवस्थित गर्न बनेको विधेयकमाथि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार छलफल कार्यक्रम आयोजना गरेको थियो । छलफलका सहभागी सांसदले राष्ट्रिय परिचयपत्र नेपाली नागरिक तथा नागरिकता प्राप्त गर्न योग्य नेपालीलाई मात्र वितरण गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

    छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापाले गैरआवासीय नेपालीको नागरिकताको विषय छलफलमा रहेका कारण उनीहरूलाई स्वदेशमा लगानी गर्ने तथा पहिचान हुने व्यवस्था गर्नुपर्ने भए पनि परिचयपत्र उपलब्ध नगराइने जानकारी गराए ।

    सांसद विजय सुब्बाले गैरआवासीय नेपाली तथा विदेशीलाई सामाजिक सुरक्षा कार्डको व्यवस्था गर्न सकिने बताउँदै उनीहरूलाई परिचयपत्र वितरण गर्दा राष्ट्रियतामा आघात पुग्ने विचार व्यक्त गरे ।

    सांसद पम्फा भुसालले निश्चित समय नेपाल बसेका विदेशीलाई स्थायी बसोबास लगायतका अन्य प्रकारका सुविधा दिन सकिने भए पनि परिचयपत्र नेपाली नागरिकलाई मात्र वितरण गर्नुपर्नेमा जोड दिइन् ।

    सभापति शशि श्रेष्ठको सभापतित्वमा भएको छलफलमा सांसद यशोदा सुवेदी, प्रेम सुवाल, रेखा शर्मा, दीव्यमणि राजभण्डारी, नवराज सिलवाल तथा गृहसचिव प्रेमकुमार राईले परिचयपत्रमा फोटो, औँलाको छाप, रेटिनाको प्रयोग गरी वैयक्तिक तथा जैविक विवरणको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

  • कमेन्ट गर्नुहोस्