• काठमाडौंको विद्युत् प्रणाली भूमिगत गरिंदै

  • काठमाडौं, फागुन १२ : विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै, शहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको प्रसारण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न निर्माण व्यवसायी छनोट गरेको छ ।

    ती वितरण केन्द्र अन्तर्गतको विद्युतका तारलाई भूमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केइआइ इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको हो ।

    प्राधिकरणले यही फागुन ६ गते बोलपत्रको नतिजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरीद सम्झौताका लागि आउन पत्राचार गरेको छ । कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउनुपर्ने व्यवस्था छ । संसारभर नै शहरी क्षेत्रमा विद्युत वितरण तथा प्रसारण प्रणाली भूमिगत गरिएको छ ।

    जताततै विद्युत र टेलिफोनका तारका कारण शहर कुरूप भएको र दुर्घटनाको जोखिम समेत बढेकोले प्रसारण तथा वितरण प्रणाली भूमिगत गर्न लागेको प्राधिकरणको भनाइ छ ।

    कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको कामका करीब तीन अर्ब ६० करोड रूपैयाँमा ठेक्का सम्झौता हुनेछ । कम्पनीले रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम करीब तीन अर्ब १२ करोड १५ लाख रूपैयाँमा सम्पन्न गर्नेछ ।

    मध्य तथा उत्तर काठमाडौं (महाराजगञ्ज) का आयोजना प्रमुख अभिषेक अधिकारीका अनुसार कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुनेछ । ठेक्का सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठदेखि काम गर्ने लक्ष्य तय गरिएको अधिकारीले जानकारी दिए ।

    उनका अनुसार कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नुपर्नेछ । प्राधिकरणले यसअघि अनुमानित लागतभन्दा महँगो दर आएपछि पुरानो ठेक्का रद्द गरी नयाँ प्रक्रिया शुरू गरेको थियो ।

    पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरका बालुवाटार, गोङ्गबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा पर्ने विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको प्राधिकरणले जनाएको छ । 

    ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, सामान आपूर्ति, जडान र सञ्चालन गर्नु पर्नेछ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४००  भोल्टका प्रणालीलाई भूमिगत र स्वचालित ‘अटोमेसन’ गरिनेछ । प्रसारण लाइन भूमिगत गरिएसँगै ती वितरण केन्द्रअन्तर्गतका करीब ९० हजार ग्राहकका घरमा स्मार्ट मिटर जडान गरिनेछ । स्मार्ट मिटर जडान भएपछि मिटर रिडर समेत नचाहिने र ग्राहकले के कति मात्रामा विद्युत् प्रयोग गर्ने हो आफैं निर्धारण गर्न सक्नेछन् ।

    वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्याङ्क राख्न बेग्लै केन्द्र स्थापना हुनेछ । सोही केन्द्रले ग्राहकको सम्पूर्ण गतिविधिका बारेमा जानकारी राख्नेछ ।

    दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा समेत भूमिगत लाइन विस्तार गरिनेछ । यस्तै विद्युत प्रणालीको आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना समेत प्राधिकरणको रहेको छ ।  सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । यो प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरीकाले नै तारसहितको पाइप हाल्न सकिने प्राधिकरणको. भनाइ छ ।

  • कमेन्ट गर्नुहोस्