• कार्डिनल पेल बालयौन दूराचारको आरोपमा दोषी ठहर

    जर्ज पेल तस्बीर सौजन्य रासस/एएफपी
  • मेलबोर्न, फागुन १४ : पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेल दुई बालकलाई यौन दूराचार गरेको आरोपमा दोषी पाइएका छन् । बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सबैभन्दा माथिल्लो तहका क्याथोलिक धर्मगुरू हुन् ।

    अस्ट्रेलियाली न्यायाधीशहरूको समिति (जुरी) ले सर्वसम्मत रूपमा पेल दोषी भएको ठहर गरेको छ । कार्डिनल पेलले सन् १९९० को दशकमा मेलबोर्नस्थित सेन्ट प्याट्रिक्स क्याथेड्रलमा दुई बालक विरूद्ध यौन आक्रमण गरेका थिए ।

    हाल ७७ वर्ष पुगिसकेका कार्डिनल पेलले त्यसबखत १२ र १३ वर्षका दुई नाबालकलाई यौन शोषण गरेको बताइएको छ ।

    अदालतको आदेशबाट जमानतमा रहेका कार्डिनल पेलले आफूमाथि लागेका आरोपहरूमा सत्यता नरहेको दाबी गर्दै आएका छन् ।  भ्याटिकनका तर्फबाट तत्काल कुनै प्रतिक्रिया दिइएको छैन ।

    “कार्डिनल जर्ज पेलले आफू निर्दोष रहेको र त्यसमा अडिग रहेको बताएका छन्,” कार्डिनलका वकिलका तर्फबाट जारी वक्तव्यमा भनिएको छ । जुरीले गरेको फैसला विरूद्ध माथिल्लो अदालतमा पुनरावेदन गरिने वक्तव्यमा उल्लेख छ ।

    पेल विरूद्ध लगाइएका अन्य आरोप पनि यसअघि फिर्ता लिइएका वा उन्मुक्ति दिइएका छन् ।

    पेलले दुर्व्यवहार गरेको भनिएका एक बालकको सन् २०१४ मा मृत्यु भएको थियो । पेलका कारण गहिरो दुःखमा परेका ती बालकको लागुऔषधको सेवनबाट मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गर्दै आएका छन् ।

    दोस्रा पीडित व्यक्तिका तर्फबाट वकिलले जारी गरेको वक्तव्यमा जारी कानुनी प्रक्रिया निकै तनावपूर्ण रहेको र यो अझै समाप्त नभएको बताइएको छ । “अन्य पीडितझैं मैले पनि लज्जा, एकान्तपन, उदासी अनुभूत गरेको छु ।”

  • कमेन्ट गर्नुहोस्