प्रदेशको नामाङ्कन र राजधानी सहमतिबाटै टुङिगन्छ– मन्त्री आङ्बो
रासस
February 27, 2019
मङ्गलबारे, फागुन १५ : प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी हिउँदे अधिवेशनबाट प्रदेशको नामाङ्कन र राजधानी टुङ्गो लगाउने बताएका छन् । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाको रूपाटारमा निर्माण गरिएको सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) को मङ्गलबार उद्घाटन गर्दै मन्त्री आङ्बोले प्रदेशको नामाङ्कन र राजधानी सहमति र समझदारीमा टुङ्गो लगाउने बताएका हुन् ।
पहिचानको आधारमै प्रदेशको नामाङ्कन गर्दा किराँत प्रदेश हुनुपर्नेमा आफूले जोड दिएको मन्त्री आङ्बोले बताए । प्रदेश सरकार अहिले हिउँदे अधिवेशनबाट आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम बनाउने काममा लागिपरेको बताउँदै आगामी वर्षको बजेटमा यस क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए ।
पाँच वर्षको अवधिमा प्रदेश नं १ मा कोही पनि जनता भोकमरी, आवासविहीन भएर बाँच्नु नपर्ने बताउँदै उनले प्रदेश सरकार समृद्धि र विकासको पक्षमा अघि बढिरहेको उल्लेख गरे । धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनले बताए ।
प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले उक्त क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गरिरहने प्रतिबद्धता जनाए । सिँचाइ, विद्युत, कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्ने उनले बताए ।
मन्दिर निर्माणका लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको सिद्धकिराँत हाङसाम युमा माङहिम (मन्दिर) का अध्यक्ष पञ्चबहादुर योङहाङले जानकारी दिए । कार्यक्रममा किराँत धर्मगुरू मुहिङगुम अङसिमाङ आत्मनन्द लिङदेन र गुरूमा पवित्रहाङमा लिङदेनले किराँत धर्मावलम्वीहरूलाई आर्शीवचन दिएका थिए ।
कमेन्ट गर्नुहोस्

















