• बिरामी अस्पतालमै छाडेर भाग्छन् कुरूवा

  • काठमाडौं, फागुन १९ : कडा खालको मानसिक रोगको उपचारका लागि ललितपुर‚ लगनखेलस्थित मानसिक अस्पताल आएका एक युवक आफ्नै दाजुले छाडेपछि अस्पतालमा अलपत्र छन् । एक महिना पहिले दाजुभाइ सँगै अस्पताल आएका थिए । तर दुई साता अघि दाजुले छाडेपछि युवक अहिले अस्पतालमै छन् । मानसिक रोगका बिरामी भएकाले ठेगाना कहिले कता त कहिले कता भन्ने गरेकाले पत्ता लगाउन नसकिएको अस्पतालले बताएको छ । औषधि किन्न भन्दै निस्केका युवकका दाजु अहिलेसम्म फर्किएका छैनन् ।

    मानसिक अस्पतालमै दुई महिना भर्ना भएका अर्का एक जनालाई पनि छोराले अस्पतालमै छाडेर सम्पर्कविहीन भएका थिए । काम देखाएर अस्पताल बाहिर निस्किएका उनी साँझसम्म नफर्किएपछि अस्पतालले खोजी गर्‍यो । अस्पताललाई दिइएको नम्बरमा फोन गर्दा फोन बन्द थियो । एक महिना पहिले मात्रै बिरामीले दिएको ठेगानाका आधारमा सम्पर्क गर्दा फोन उठेन । उनी आफैंले दिएको ठेगानाका आधारमा परिवार फेला पारेर अस्पतालले अहिले उनलाई घर फर्काइदिएको छ ।

    मानसिक रोगका उपचारका लागि आफूसँगै ल्याएका आफन्तले छाडेपछि अलपत्र परेका तीन बिरामी अहिले अस्पतालमा छन् । महिनैपिच्छे दुई–चार बिरामी परिवारका सदस्य वा आफन्तले छाडेर अलपत्र हुने गरेको अस्पतालले जनाएको छ । ती बिरामीको उपचार गर्दै आफन्तको खोजी गरिने प्रमुख कन्सल्टेन्ट साइकायाट्रिस्ट अनन्त अधिकारीले बताए । साथमा लिएर आएका बिरामीलाई अस्पतालमै छाडेर कुरूवा भाग्ने समस्या बढ्दै गएको उनले बताए ।

    उनका अनुसार बिरामीका बुबाआमा, छोराछोरी, दिदीबहिनी, दाजुभाइलगायत नजिकका आफन्तले नै उनीहरूलाई छाडेर भाग्ने गरेका छन् । लामो समयदेखि मानसिक रोग लागेका बिरामीलाई यहाँ छाडेपछि उपचार पनि हुने र फर्किएर पनि नआउने आफन्तले सोच्ने गरेको उनले बताए ।

    उपचारपछि निको भएका बिरामीलाई अस्पतालले ठेगाना सोधेर आफन्तको खोजी गर्ने गरेको छ । बिरामीले दिएको सूचनाका आधारमा प्रहरीमार्फत उनीहरूको घर खोजी गर्ने गरिएको उनले बताए ।

     अस्पतालमा कुरूवाले बिरामी छाड्ने समस्यासँगै बिरामी आफैं अस्पतालबाट भाग्ने अर्को समस्या रहेको अस्पतालले जनाएको छ । केही नहुँदा पनि जबर्जस्ती बिरामी भनेको भन्दै भाग्ने गरेका छन् ।

    पचास शय्याको यो अस्पतालमा भर्ना हुन आउने बिरामीको चाप बढिरहँदा कहिल्यै खाली नहुने अस्पतालले जनाएको छ । अस्पतालको बहिरङ्ग विभागमा दैनिक एक सय ५० देखि दुई सयसम्म बिरामी उपचारका लागि अस्पताल आउँछन् ।


  • कमेन्ट गर्नुहोस्