• सुरू भयो होलीको उमङ्ग

    फागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर: रत्न ७नतसेष्ठ, रासस ।
  • काठमाडौं, चैत ६: रङ दल्दै आपसमा खुसियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग सुरू भएको छ ।

    विजयको प्रतीकको रूपमा मनाइने परम्परा रहेको होली काठमाडौं उपत्यका लगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईमा भोली होली मनाइन्छ । चितवन लगायत कतिपय जिल्लामा दुवै दिन होली मनाउने चलन छ ।

    फागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

    आज बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा सजिएर समूह–समूहमा होली खेल्न थालेका छन् । एकआपसमा विभिन्न थरिका रङ दलेर रमाइरहेका छन् । आपसी खुशी साटासाट गरेर मनाउँदै एक अर्काका भाइचारा विस्तार हुने भएकाले होलीको आफ्नै विशेषता रहेको काठमाडौं मैतीदेवीमा होली खेल्दै गरेका युवा हरिकृष्ण शर्माले बताए ।

    हीरण्यकश्प नामक राक्षसले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्रह्लादलाई अग्नि कुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र प्रह्लादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रह्लादलाई केही नभएको खुसियालीमा आपसमा रङ दलेर होली मनाउने प्रचलन छ ।

    फागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

    होलीको दिनमा आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । वसन्तपुर, मैतीदेवी, टुँडिखेल, सामाखुशी, टोखा, भृकुटीमण्डप, महाराजगञ्ज लगायत १८ स्थानमा होली कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न सङ्घ संस्थाले अनुमति लिएका छन् ।

    सो क्षेत्रमा होलीलाई शान्तिपूर्ण बनाउन प्रहरी परिचालन गरिएको छ । अन्य क्षेत्रमा पनि सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण रूपमा मनाउनुपर्ने होली पछिल्लो समयमा विकृति मिसिएको भन्दै चिन्ता प्रकट गरिएको छ ।

    फागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

    बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहोर पानी छ्याप्ने, जबर्जस्ती रङ दल्ने लगायत उच्छृङ्खल गतिविधि देखिने गरेको छ । यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना पनि भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।

    आज बिहान काठमाडौंका विभिन्न क्षेत्र घुम्दा मुख्य सडकभन्दा भित्री सडकमा विकृतिपूर्ण व्यवहार देखिएका छन् । बालबालिकाले भने लोलाको प्रयोग गरिरहेका छन् । भित्री सडकमा लोला हानेका प्लाष्टिक सडकमा यत्रतत्र देखिएका छन् । मुख्य सडक क्षेत्रमा भने युवाको झुण्ड होलीमा रमाइरहेका छन् । होली विशेष कार्यक्रम आयोजना गरिएको क्षेत्रमा भने साँस्कृतिक कार्यक्रमसहित होली मनाउने तयारी गरिएको छ ।

    उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध

     सरकारले होलीका अवसरमा उत्छृङ्खलता प्रदर्शन नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । खुसियाली साटासाट गरी मनाइने होली पर्व मर्यादित रूपमा मनाउन सरकारले सबैमा आग्रह गरेको हो ।

    गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले धार्मिक र साँस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली मनाउन आग्रह गरेका छन् । “पर्व मनाउने नाममा इच्छा विपरीत जबर्जस्ती, अमर्यादित, गैरकानूनी र उच्छृङ्खल किसिमका गतिविधि भएमा कारवाही हुन्छ‚” उनले भने ।

    फागुु पूर्णिमाको दिन बुधबार भक्तपुर दरवार क्षेत्रमा होली खेलेर रमाउँदै । तस्वीर : नवीन पौडेल, रासस

    नेपाल प्रहरीले समेत होली विशेष सुरक्षा योजना ल्याएर विशेष सुरक्षा व्यवस्था मिलाएको छ । यसपटक तीन दिन अघिदेखि नै होलीमा अवाञ्छित घटना हुन नदिन विशेष सतर्कता अपनाइएको छ । प्रहरीले होली उच्छृङ्खल नहोस् भनेर समुदायसँग मिलेर माइकिङ गरी प्रचारप्रसारका कार्यक्रम गरेको थियो ।

    ठाउँठाउँमा ‘चेक प्वाइन्ट’

    प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले कुनै उच्छुङ्खलता देखिए पक्राउ गरी कारवाही गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको बताए ।  यसपटक काठमाडौंमा मात्रै एक सय सात स्थानमा ‘चेक प्याइन्ट’ राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ । होलीको दिन बुधबार काठमाडौंमा सादा पोशाकमा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    फागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस

    सतहत्तरै जिल्लामा होली विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाइएको बताउँदै प्रहरी प्रधान कार्यालयले मापसे चेक जाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद बनाइएको जनाएको छ ।

    सवारी आवागमन न्यून

    आज होलीका कारण काठमाडौं उपत्यकामा सवारी आवागनम न्यून देखिएको छ । अन्य सार्वजनिक विदाभन्दा आज अत्यन्त न्यून सवारी सञ्चालनमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    छिटफुट सार्वजनिक सवारी चलेका देखिन्छन् भने सामान्य मात्रामा निजी सवारी सञ्चालनमा छन् । सबै होलीमा रमाइरहेकाले सवारी कम चलेको महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताए । चेकजाँच कडाइसँगै हेलमेट नलगाई हिँड्ने, मापसे गर्ने जबर्जस्ती गर्ने, मोटरसाइकलमा तीन जना चढेर हिँड्नेलगायत गतिविधिमा ट्राफिक प्रहरीले कडाइ गरेको उनले बताए ।

  • कमेन्ट गर्नुहोस्