• विप्लव माओवादीका नेता वलीसहित नौ जना पक्राउ

  • काभ्रेपलाञ्चोक, चैत ९ : प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट प्रहरीले पक्राउ गरेको छ ।

    खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभ्रेपलाञ्चोक र ललितपुरको सिमानाबाट बा१७च ४८९३ नं को स्कोरपियो गाडीमा वलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेल स्रोतले जनाएको छ । उनीहरूलाई दुई जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च-अपरेशन’का क्रममा पक्राउ गरेको हो ।

    प्रहरी स्रोतका अनुसार वलीसहितको टोली काभ्रेपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठामाडौं जाँदै थियो । उनीहरू गाडीमै रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका छन् । गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गरेको जिम्मा वलीले लिएको प्रहरी श्रोतले जनाएको छ । विस्फोटमा परी एक जनाको मृत्यु तथा दुई जना घाइते भएका थिए ।

    काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा गत मङ्गलबार साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव नेकपाका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको थियो । सो सर्च अपरेशनका क्रममा वली भाग्न सफल भएका थिए । ध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै विप्लव माओवादीलाई गत फागुन ३० गतेदेखि सरकारले प्रतिबन्ध लगाएको छ । 

  • कमेन्ट गर्नुहोस्