• मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने

  • दोलखा, चैत ९ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निरीक्षण गरेका छन् । राष्ट्रिय गौरवको आयोजनामध्ये माथिल्लो तामाकोशी पनि एक हो ।

    मन्त्री पुनले आयोजना सक्दो चाँडो सम्पन्न गर्न सार्थक पहल गर्दै आएका थिए । दोलखाको विगु गाउँपालिकामा बन्दै गरेको आयोजनाको बाँधस्थल, सुरूङ, माथिल्लो पेनस्टक र तल्लो पेनस्टकको अवस्थाबारे मन्त्री पुनले निर्माणस्थलमै पुगेर जानकारी लिए ।

    करिब तीन घन्टा आयोजना निर्माणस्थलमै रहेर पुनले निकै चासोका साथ निर्माण कार्यको अवलोकन गरेका थिए । आयोजनाको अनुगमन, निरीक्षण, समस्याको समाधान र सहजीकरणका लागि आफू प्राधिकरण तथा आयोजनाका उच्चपदस्थ अधिकारीसहित निर्माणस्थलमै आएको उनले बताए ।

    आयोजना प्रमुख दिनेशजङ्ग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग मन्त्री पुनले आयोजनाको प्रगति बारे जानकारी लिए । तोकिएको समयभित्रै राष्ट्रिय गौरवको तामाकोशी जलविद्युत् आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिँदै मन्त्री पुनले त्यसमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।

    आयोजनाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रिय गौरवको यस आयोजना तोकिएको समय तालिकाभित्रै सम्पन्न हुने पुनले बताए । आगामी मङ्सिरभित्र आयोजना पूर्णरूपमा सञ्चालनमा आउने उनले विश्वास व्यक्त गरे ।

    “निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भीर चासो छ । आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनका लागि मैले पूरै ध्यान केन्द्रित गरेको छु । म समय तालिकाभित्रै आयोजना पूरा हुनेमा विश्वस्त छु” मन्त्री पुनले भने ।

    नेपाली श्रम, सीप र पूँजी परिचालन गरी नेपालीले ठूला आयोजना आफैं बनाउन सक्छन् भन्ने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले पुष्टि गर्ने उनले बताए । यो नेपालकै नमूना र महत्वपूर्ण आयोजना भएको उनले बताए ।

    उनले भने,“केही समयअघि भर्टिकल साफका कारण केही समस्या आएको थियो । हामीले टेक्सम्याक र एण्ड्रिजको बीचमा समझदारी गरेका छौं । अहिले कामअघि बढिरहेको छ । त्यसैले पनि आगामी मङ्सिरसम्म सबै काम सम्पन्न हुन्छ ।”

    आयोजना प्रमुख र कार्यकारी निर्देशकलाई सँगै राखेर शुरूदेखि नै तालिका अनुसार काम गर्न प्रेरित गरेको मन्त्री पुनको भनाइ थियो । यसअघि आयोजनामा समस्या देखिएपछि मन्त्री पुनले ऊर्जा मन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख र टेक्सम्याक निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेर तोकिएको समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिएका थिए ।

    छलफलका क्रममा आयोजनाको काम अघि नबढे ठेक्का तोड्ने चेतावनीसमेत दिएका थिए । निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजनाआयोगका सदस्य डा. कृष्णप्रसाद ओलीसहित आयोजनास्थल पुगेका थिए ।

    भौतिक प्रगति ९८ प्रतिशत

    आयोजना निर्माणका क्रममा देखिएका समस्या सरकारले समयमै हल गरेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगतिमा गुणात्मक परिवर्तन देखिएको छ । आयोजनाको भौतिक प्रगति करिब ९८ प्रतिशत पुगेको छ ।

    आयोजनाको सुरूङ निर्माणका क्रममा निर्माण कम्पनीमा दुविधा उत्पन्न भएपछि नेपाल विद्युत प्राधिकरण, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधानको कार्ययोजनासहित प्रस्तुत हुन केही दिनअघि मात्रै ऊर्जामन्त्री पुनले निर्देशन दिएका थिए ।

    सोही निर्देशन अनुसार आयोजनाको दुई ओटा सुरूङ निर्माणका लागि अष्ट्रियाको एन्ड्रिज हाइड्रो र भारतीय कम्पनी टेक्सम्याकले मिलेर काम गरिरहेका छन् । हाल ठाडो सुरूङमा स्टिलको पातासहितको पाइप राख्ने काम धमाधम अगाडि बढिरहेको छ । आगामी मङ्सिरमा आयोजना सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तिव्रता दिइएको छ । ‘भर्टिकल पेनस्टक सार्प’ मा स्टिल लाइनिङ गर्ने कार्यमा ढिलाइ भएपछि सो कार्य गर्न एन्ड्रिज हाइड्रोमार्फत व्यवस्थापन गरिएको छ ।

  • कमेन्ट गर्नुहोस्