• सम्पदामा बाँदरको आक्रमण

  • काठमाडौं, चैत १४ : प्रमुख सम्पदा क्षेत्रमा धेरै बाँदर जम्मा हुन थालेपछि मूर्त अमूर्त संस्कृतिमै असर पुग्न थालेको छ ।

    उपत्यकाका पशुपति, स्वयम्भू, पाटन दरबार, साँखु बज्रयोगिनी, गोकर्णेश्वर महादेव मन्दिर, नीलबाराही, उपत्यका बाहिरका बडिमालिका, बराहक्षेत्र, कालीगण्डकीको राम्दीलगायत स्थानका सम्पदामा अध्ययनपछि यस्तो निष्कर्ष निस्केको हो ।

    मानिसको सौहार्दता र बढी खाना पाइने भएकाले सम्पदा क्षेत्रमा क्षमताभन्दा बढी बाँदर छन् । हाल पशुपतिमा ४५०, स्वयम्भूमा ४५०, साँखु बज्रयोगिनीमा १०० र नीलबाराहीमा ७० को सङ्ख्यामा बाँदर रहेको डा मुकेश चालिसेले बताए । चालिसे बाँदरसम्बन्धी अध्ययनमा लागेका छन् ।

    ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सम्पदामा बाँदरले क्षति पुर्‍याए पनि सरोकारवाला निकायले यसको संरक्षणमा खासै ध्यान दिएका छैनन् ।

    गोकर्णेश्वर महादेव मन्दिरको झिँगटी र काठ बाँदरले खसालेर पानी चुहिने बनाएको छ । पानी परेका बेला मन्दिरभित्र बसेर पूजा गर्न नसकिने पुजारी जगदीश भट्ट बताउँछन् । झिँगटीको छाना बाँदरले फालेर ऐतिहासिक मन्दिरमा क्षति पुग्न थालेपछि यसै वर्ष महायज्ञ गरी पित्तलमा सुनको लेप लगाउने अभियान सुरू गरिएको छ ।

    ललितपुरमा रहेको पाटन दरबार क्षेत्रमा पनि बाँदरले झिँगटी झारी क्षति पुर्‍याएको छ । एउटा झिँगटी बाँदरले खसालेपछि त्यही बाटोबाट चाङका चाङ खसेर समस्या हुने गरेको ललितपुर महानगरपालिका सम्पदा संरक्षण शाखा प्रमुख चन्द्रशोभा शाक्यले बताइन् । उनले भनिन्,“बाँदरले सम्पदा भत्काउने बाटो बनाएपछि झिँगटी, काठ, माटोजस्ता संरचना खस्न थाल्छन् ।”

    पाटनको कृष्णमन्दिर अघि बाँदरले झिँगटी खसाल्न थालेपछि पर्यटकहरू जान छाडेको लामो समय भएको अनुसन्धाता चालिसेले बताए । बढी पर्यटक आउने क्षेत्रमा बाँदर समस्या बनेपछि महानगरपालिकाले के गर्ने भन्ने विषयमा छलफल भइरहेको शाखा प्रमुख शाक्यले जानकारी दिइन् ।

    पशुपति क्षेत्रमा जङ्गल रहेकाले तुलनात्मक रूपमा त्यहाँका सम्पदामा बाँदरले धेरै असर गरेको छैन । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल जैविक विविधताका लागि बाँदर आवश्यक रहेकाले अन्यत्र सार्ने पक्षमा नरहेको बताए ।

    “दाताको सहयोगमा पशुपति क्षेत्रमा बाँदरका लागि भोजनस्थल, जलस्थललगायत संरचनाको व्यवस्था गरिएको छ । प्राकृतिक रूपमै बाँदरलाई बस्न दिए यसले मानिस र सम्पदामा असर गर्दैन । हाल पशुपति क्षेत्रमा थेग्न नसक्ने सङ्ख्यामा बाँदर छैनन्, मेरो कार्यकालमा अन्त बाँदर पठाउँदिनँ”, उनले भने ।

    एक दशकअघि पशुपतिका बाँदर राजधानीसँग सीमा जोडिएका जिल्लाका जङ्गलमा लगेर छाडिएको थियो । पशुपतिबाट लगी छोडिएका बाँदरले ती जिल्लामा दुःख दिइरहेका छन् ।

    लुम्बिनी क्षेत्रमा नीलगाई र हाँसबाट सम्पदा जोगाउनुपर्ने समस्या आइपरेको छ । २० देखि ३० सङ्ख्यामा भए प्राकृतिक रूपमा राम्रो हुनुका साथै पर्यटकलाई आकर्षणसमेत गर्छ । धेरै सङ्ख्या भएर सम्पदामा क्षति गर्न थालेको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ ।

    सम्पदा क्षेत्रमा बढेका बाँदरलगायत जनावरको व्यवस्थापनका लागि वन विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले काम गर्नुपर्ने चालिसेको भनाइ छ । धेरै भएकालाई चिडियाखानामा राख्नुका साथै अनुसन्धानमा पनि प्रयोग गर्न सकिन्छ । सम्पदा संरक्षणको जिम्मेवारी लिएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर बाँदरका कारण सम्पदामा क्षति पुगेकाले समाधानको उपाय खोजी गर्नुपर्ने बताउँछन् । झिँगटीको छाना भएका सम्पदामा बढी क्षति पुग्ने गरेको उनले जानकारी दिए ।

    मानिसमा रोग सार्दै बाँदर

    बाँदरले सम्पदामा क्षति गर्ने मात्र नभई मानिसमा रोगसमेत सार्ने गरेको छ । मानिसको भीडभाड हुने सम्पदा क्षेत्रमा बाँदरको भीडले संक्रामक रोग सर्ने गरेको छ । यसलाई चिकित्सकले पनि बाँदरबाटै सरेको हो भनी पत्ता नलगाउने भएकाले सङ्ख्या बढे पनि सरोकार भएका निकायले केही गरेका छैनन् ।

    “सम्पदास्थलमा क्षमताभन्दा बढी राखिएका बाँदरले मानिसमा धेरै रोग पनि सारेका छन्, झाडापखाला, क्षयरोग, लुतो, पेटसम्बन्धी धेरै रोग, यौन रोगलगायत बाँदरबाट मानिसमा सरेको पाइएको छ”, उनले भने ।

    ठूला सम्पदा नजिकका जिल्लामा बाँदर आतङ्क काठमाडौंका विभिन्न सम्पदास्थलमा धेरै भएका बाँदर राजधानीसँग सीमा जोडिएका जिल्लामा लगेर छोड्दा त्यहाँ पनि समस्या बन्दै गएको छ । नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सीमावर्ती स्थानमा छोडिएका बाँदरले किसानको उठीबास गराउन थालेको छ ।

  • कमेन्ट गर्नुहोस्