• बन्दको प्रभाव

    बागलुङ बजारको कुडुले चोकमा सोमबार बिहान फेला परेकोे शंकास्पद वस्तु डिस्पोज गर्दै नेपाली सेनाका डिस्पोजल टोली । तस्विरः खेमराज गौतम, रासस, गलकोट(बागलुङ)
  • हेटौंडा, १३ जेठ  : नेत्र विक्रम चन्द समुहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित भएको छ ।

    दुई स्थानमा ट्रकमा आगजनी भएको छ । हेटौंडाको बुद्धचोकमै बम फेला परेको छ । मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । आज बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको हो । हेटौंडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको उनले बताए । आगजनीका कारण मानवीय क्षति भने भएको छैन । त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ । नौ खण्डेमा बास बसेर आज बिहान ४ः१५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो । इलाका प्रहरी कार्यालय पालुङ्ले दिएको जानकारीअनुसार अज्ञात समूहमा आएका तीन जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएको र चालक प्रहरी नियन्त्रणमा नै रहेको प्रहरीको जानकारी गराएको छ ।

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं १२ मुसेखोलामा सोमबार बिहान फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निस्कृय पारेपछि सवारी चलाउँदै सर्वसाधारण । तस्विर : कृष्ण न्यौपाने, रासस, दमौली, (तनहुँ)

    कावासोती : नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो । ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै आज बिहान ३ः३० बजेको समयमा कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीको घरदेखि ३०० मिटरको दूरीमा खेतमा सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्किनु पूर्वनै प्रहरीले सो सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

    विराटनगर :  विराटनगरमा बन्दको आँशिक प्रभाव परेको छ । शैक्षिक र औद्योगिक प्रतिष्ठान ठप्प छन् । बजारमा पसल खुला छन् । लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । सडकमा जीप, कार, भ्यान, सिटीसफारी, मोरटरसाइकल, रिक्सा, साइकलजस्ता सवारीसाधन निर्वाध चलिरहेका छन् । जिल्लामा कुनै अप्रिय घटना नभए पनि विराटनगर महानगरपालिका वडा नं ४ र १ को सिमानामा पर्ने पहडगछस्थित सडकको पूर्वतर्फ बिजुलीको खम्बा नजिक शङ्कास्पद् वस्तु फेला परेको प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए । प्रेसर कुकरजस्तो देखिने प्लाष्टिक झोलामा रहेको सो वस्तु बम नै भएको प्रहरीको आशङ्का छ । आज बिहान प्रातः भ्रमणमा निस्केका स्थानीयवासीले सो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सो क्षेत्रलाई चारैतिरबाट घेरा हालेर सुरक्षा दिइरहेको छ । बम पहिचान गर्ने नेपाली सेनाका डिस्पोजल टोली आइनसकेको र अहिले सो क्षेत्रमा मानिसको भीड लागेको छ ।

  • कमेन्ट गर्नुहोस्