• चर्को आलाेचनापछि कारवाहीको निर्देशन

  •  

    प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

    उनले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । “प्रधानमन्त्रीले साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारवाही गर्न मुख्यसचिवलाई निर्देशन दिनुभएको छ”, उनले भने।

    टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको थियो ।चौधरीमाथि राज्यले गरेको अमानवीय व्यवहारप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

     

    सरकारले अपनाएको रवैयाप्रति समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । ‘टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ?’ कार्यशैलीप्रति प्रश्न गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

    चौधरीलाई भेट्न शुक्रबार अस्पताल पुगेका भट्टराईले खुट्टामा नेल लगाइएको तस्वीर पोस्ट गर्दै सरकारलाई मानवअधिकार र नियम कानून स्मरण गराएका छन् । विगतमा व्यवस्थाविरुद्ध संघर्ष गरेका नेताहरुले शासकबाट भोगेका यातना स्मरण गराउँदै बाबुरामले प्रश्न गरेका छन्– ‘आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिटै बिर्सेका ?’

    त्यसैगरी रेशम चौधरीमाथि गरिएको दुव्यवहारको विरोध गर्दै प्रगतिशील साहित्यकार आहुतीले स्टाटस लेखेका छन्– ‘हाम्रो समयको दलाल पुँजीवादी तथा हिन्दू उच्च जातवादी राज्यको कुरूप हर्कतको फोटो दस्तावेज हो यो, जसलाई न्यायप्रेमी नागरिकले कहिल्यै बिर्सने छैनन् ।’

  • कमेन्ट गर्नुहोस्