• हाङयुगलाई वर्ष गीत पुरस्कार

  •  

    जुन २३, काठमाडौै । गीतकार संघ नेपालले हङकङका गीतकार हाङयुग अज्ञातलाई “वर्ष गीत पुरस्कार २०७५” बाट पुरस्कृत गरेकोमा छ । उक्त पुरस्कार अज्ञातसहित गीतकार डीआर उपाध्यायलाई संयुक्त प्रदान गरिएको हो ।

    संघको नवौं वार्षिकोत्सवको अवसरमा हिजो नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको पुस्तकालय हलमा आयोजित कार्यक्रममा ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्य रहेको कार्यक्रममा गीतकार नगेन्द्र थापालाई १ लाख रुपैयाँ राशीसहित “अमर भावना राष्ट्रिय सम्मान” बाट सम्मानित गरिएको थियो ।

    त्यस्तै वर्ष गीति पुस्तक –२०७५ बाट गौरव गुरुङ र उर्मिला कोइरालालाई संयुक्त रूपमा एकाउन्न हजार राशि सहितको पुरस्कार दिइएको छ । हङकङका गीतकार रामकृष्ण बान्तावालाई ११ हजार रुपैयाँसहित डायस्पोरा श्रष्टा सम्मान प्रदान गरिएकाे थियो । संघका अध्यक्ष शुभ मुकारुङको अध्यक्षता रहेको कार्यक्रममा मुखपत्र ‘गीतकार’को विमोचन गरिएको थियो ।

    हाङयुग अज्ञातलाई “आमा मेरो” शिर्षकको गीतमार्फत पुरस्कृत गरिएको हो । उक्त गीतलाई दिनेश सुब्बाले संगीत दिएका छन् भने  बेनुका राईको स्वर रहेको छ । नाट्यकर्मी सोमनाथ खनालको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा बबिता मल्ल ठकुरी, सम्झना सिर्पाली र सिञ्जल भट्टराई लगायतको अभिनय रहेको छ । रविन्द्र न्यौपानेको छायांकनलाई किरण चाम्लिङ राईले सम्पादन गरेका छन् ।

     

  • कमेन्ट गर्नुहोस्