• जि–२० को शिखर सम्मेलन जापानको ओसाकामा शुरु

  •  

    जुन २८। बीसवटा औद्योगिक राष्ट्रको समूह (जि–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।

    सो सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबार जापानको ओसाका शहर आइपुग्नुभएको बताइएको थियो । विश्वमा हाल कतिपय विषयको व्यापारमा प्रमुख औद्योगिक राष्ट्रहरुका बीचमा मतान्तर कायम रहेकै समयमा विश्वका ती औद्योगिक राष्ट्रहरुको उक्त समूहको सम्मेलन शुरु भएको हो । जापानी प्रधानमन्त्री आबेले यस सम्मेलनका लागि जापान पुग्ने विभिन्न देशका नेताहरुलाई स्वागत गर्नुभएको छ । नेताहरु हिजोदेखि नै जापान पुग्ने क्रम जारी छ ।

    यस सम्मेलनका क्रममा विश्वको औद्योगिक उत्पादन, व्यापारिक मुद्धाहरु, महिला सशक्तिकरण तथा स्वास्थ्यका साथै विविध विषयहरुमा छलफल हुने बताइएको छ । यसका साथै उक्त सम्मेलनको पूर्व सन्ध्यामा विश्व बजारमा दुई मुलुक चीन र अमेरिकाका बीचको कर सम्बन्धी विवाद कायमै रहेकोले यस बारेमा वार्ताद्वारा समस्या सुल्झाउने प्रयास हुने अपेक्षा पनि गरिएको छ । त्यसैगरी विश्व अर्थतन्त्रमै करवृद्धिले नकारात्मक असर पर्न थालेको अनुमान गर्न थालिएकोले यस बारेमा ती दुई देशलाई वार्ताको माध्यमबाट समस्या सुल्झाउनका लागि विश्वका नेताहरुले सुझाव दिने अपेक्षा पनि गरिएको छ ।

    यस जि–२० सम्मेलनमा औपचारिक सम्झौता हुने सम्भावना भने नरहेको अधिकारीहरु बताउँछन् । उनीहरुले दुबै मुलुकबीच जारी व्यापार वार्तासमेत केही समयदेखि अबरुद्ध रहेकाले यस विषयले गति लिन सक्ने अनुमान गरिएको बताएका छन् । समसामयिक विश्वका विषयहरु जस्तै जलवायु परिवर्तन, बुढ्यौली जनसंख्याको व्यवस्थापनलगायतका पनि यस सम्मेलनमा छलफल कार्यसूचीमा रहेका अनुमान गरिएको छ ।

    विश्वका शक्ति सम्पन्न र औद्योगिक राष्ट्रहरु नै यस समूहका सदस्य रहेकोले जि–२० को यस सम्मेलनमा व्यापारका अतिरिक्त उत्तर कोरियाको विषयले पनि स्थान पाउने अनुमान गरिएको छ । त्यस्तै इरान र भेनेजुएलाका विषयमा पनि यस सम्मेलनको प्रमुख कार्यसूचीमा रहेका बताइएको छ ।

    सो सम्मेलनको पहिलो दिन मन्तव्य राख्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले आफू पछिल्लो समयमा विश्वमा उठेको व्यापारिक विवादबाट गम्भीर भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले यसै सम्मेलनबाट स्वतन्त्र तथा भेदभावरहित व्यापारको लागि वातावरण सिर्जना भएको सन्देश जानुपर्ने आफ्नो धारणा रहेको बताउनुभएको थियो ।

    सो सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि त्यहाँ पुग्नुभएको छ । सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने प्रतिक्रिया दिनुभएको थियो । अमेरिका र चीन विश्वका दुई ठूला अर्थतन्त्र हुन् । यी दुई देशबीच जारी व्यापार युद्धले विश्वका अरु देशहरुलाई पनि असर पारिरहेको बताइन्छ । त्यसैले जि–२० को यसपटकको शिखर बैठकको मुख्य कार्यसूची पनि यही नै रहने अनुमान गरिएको छ ।

    जि–२० को शिखर सम्मेलनमा सहभागी नेताहरुले आ–आफ्ना देशबाट पनि यी विषयमा चासोहरु व्यक्त गरिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले जापान प्रस्थान गर्नुअघि बिहीबार अमेरिकी टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई अन्तर्वार्ता दिँदै अमेरिकी बजार खुम्चिएको र यसबाट चीनको अर्थतन्त्रमा पनि गिरावट आएको दाबी गर्नुभएको थियो ।

    जापानी प्रधानमन्त्री आबेले विश्व अर्थतन्त्रका लागि पनि यीनै जि–२० का राष्ट्रहरु बढी जिम्मेवार हुनुपर्ने अवस्था रहेको भन्दै यसका लागि सबै नेताहरुलाई असल र सौहार्द औद्योगिक तथा व्यापारिक वातावरण निर्माण गर्न सबै नीतिहरु अपनाउन आह्वान गर्नुभयो । विश्वमा व्यापारिक वातावरणको निर्माण गर्न, विश्व व्यापार संगठनमा सुधार गर्न र अहिलेको असहज परिस्थितिको छिटो निराकरण गर्न आफूले नेताहरुसँग वार्ता गर्ने पनि बताउनुभयो ।

    यस समूहमा विश्वका औद्योगिक राष्ट्रहरु र युरोपेली युनियन सदस्य रहेका छन् । विश्वका औद्योगिक तथा ठूला अर्थतन्त्रहरु समेटिएको यस समूहको स्थापना सन् १९९९ मा भएको हो । यस समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन् ।

    -एएफपी

  • कमेन्ट गर्नुहोस्