एनआरएनए कार्यसमितिका श्रेष्ठ बर्खास्त
गैर–आवासीय नेपाली संघ (एनआरएनए) हङकङले कार्यसमिति सदस्य भेषमणि श्रेष्ठलाई पञ्जिकृत सदस्यसमेत नरहने गरी बर्खास्त गरेको छ । संघले विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएको हो ।
संघलाई गम्भीर क्षति पुग्ने क्रियाकलापमा संलग्न भएको ठहर भएपछि स्पष्टिकरण लिदा पनि सोही किसिमको हर्कत दोहोरिएकोले सदस्यस्यता खारेज गर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघका प्रवक्ता इन्द्र वनेमका अनुसार संस्थाको निर्णय विपरितको गतिविधि गरेको र उक्त कुरामा स्पष्टिकरणसहित सचेत गराउँदा पनि गल्ति दोहोरिएपछि विधान अनुसार कार्वाही गरिएको हो ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को विधानमा क्षेत्रीय बैठक (सम्मेलन) एक कार्यकालमा एक पटक विश्व सम्मेलन नभएको वर्ष गर्ने प्रावधान भए पनि विधान विपरित सातौं एशिया–प्रशान्त क्षेत्रीय बैठक म्यान्मारमा गर्ने निर्णय भएपछि हङकङले अनुपस्थित हुने निर्णय गरेको थियो । संघले जुलाई १ का दिन प्रकाशित गरेको विज्ञप्ति अनुसार सन् २०१८ डिसेम्बर ८–९ का दिन छैटौं बैठक (सम्मेलन) हङकङमा सफलताका साथ सम्पन्न भएको हो । यस वर्ष अक्टुबर १३–१६ का दिन नवौं विश्व सम्मेलन हुने तय भएको छ ।
“बैठकले अनुपस्थित हुने निर्णय गरेको अवस्थामा भेषमणिजीले म्यान्मार जान आह्वान गरेको पाइएपछि उहाँलाई स्पष्टिकरण लिइएको थियो” प्रवक्ता वनेमले भने, “व्यक्तिगत रुपमा भाग लिन सक्ने भए पनि संस्थागत सहभागिता नजनाउँन अनुरोध गरेका थियौं तर उहाँले हङकङको प्रतिनिधित्व गर्दै गतिविधि गर्नु भएपछि कार्वाही गर्न परेको हो ।”
म्यान्मार बैठक (सम्मेलन)मा नेपाली राजदूत भीम उदासको हातबाट हङकङको टोकन अफ लिएको फोटो फेसबुकमा सेयर गरेका भेषमणी श्रेष्ठलाई संघले आकस्मिक बैठकमार्फत कार्वाही गरेको हो ।
कार्वाहीका विषयमा श्रेष्ठले आफू मर्कामा परेको प्रतिक्रिया दिदै भने, “सबै देशको नाम बोलाउदै टोकन अफ लभ दिने क्रममा हङकङको नाम आयो, नलिंदा हाम्रै बेइज्जत हुने ठानेर लिएको थिएँ । कार्वाही फिर्ता लिन म संघलाई अनुरोध गर्छु ।”
उनले आफू नेपाली मूलका विदेशी रहेको र एनआरएनए भनेकै आफूहरु जस्ताको संस्था भएको दावी गरे । उनले आफूलाई एनआरएन अभियन्ता बताउँदै आउदो विश्व सम्मेलनमार्फत एशिया–प्यासफिक क्षेत्रीय उपसंयोजकमा प्रत्याशी बन्ने तयारीका लागि पनि म्यान्मार गएको बताएका छन् ।