• भानुजयन्ती : अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवस

    प्रमुखअतिथि डीबी पालुङवा भानुको तस्बिरमा पुष्पार्पण गर्ने क्रममा । तस्बिर: एभरेष्ट ।
  •  

    जुलाई १४ । २०६औं भानुजयन्ती कार्यक्रमका वक्ताहरुले हङकङमा नेपाली भाषा तथा साहित्यका लागि साहित्यिक संघसंस्थाहरुलाई समेटेर गैर–आवासीय नेपाली संघ (एनआरएनए) प्रभावकारी ढंगले अघि बढ्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

    कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको संक्षिप्त परिचयसहित नेपाली साहित्य प्रतिष्ठानका संस्थापक सदस्य शरण सुब्बाले हङकङको शुरुवाती नेपाली साहित्यिक गतिविधि स्मरण गरेका थिए । उनले भाषा पहिचान रहेको बताउँदै हङकङमा नेपाली पहिचानका लागि भाषाको जगेर्ना आवश्यक रहेको बताएका थिए ।

    उक्त समारोहमा साहित्यिक साझा श्रृङ्खलाकी सहसंयोजक सुनिता गिरीले भानुको स्मृतिमा लेखिएको कविता वाचन गरेकी थिइन् । त्यसैगरि लेखक तथा कवि कमलप्रसाद पौड्यालले प्रकाशोन्मुख छन्द कविताको अंश वाचन गर्दै नेपालको भौगोलिक एकीकरण पृथ्वीनारायण शाहले गरेजस्तै भाषिक एकीकरण भानुभक्तले गरेको बताएका थिए ।

    शिक्षासेवी डा. चुराबहादुर थापाले मन्तव्य राख्ने क्रममा अहिलेका हङकङका नेपाली अभियन्ताहरु इतिहास बनाउँने क्रममा रहेको दावी गरेका थिए । उनका अनुसार भोलिका पुस्ताले हङकङको नेपाली इतिहास अध्ययन गर्नका लागि अहिले भइरहेका गतिविधि नियाल्न पर्ने भएकोले अहिले भइरहेका कृयाकलाप महत्वपूर्ण रहेको  ।

    प्रमुखअतिथि साहित्यिक साझा श्रृङ्खलाका संयोजक डीबी पालुङ्वाले हङकङका नेपाली साहित्यिक गतिविधिको चर्चा गर्दै सहकार्य गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेका थिए । मन्तव्यको क्रममा उनले श्रृङ्खलाको आठौं वार्षिकोत्सव अगष्ट १८ मा हुने भएकोले सहभागिता र सहयोगको लागि आह्वान गरेका थिए ।

    एनआरएनएका उपाध्यक्ष निरञ्जन गुरुङको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम संचालक महासचिव किसन राई रहेका थिए । अध्यक्ष राधिका गुरुङले वक्ताहरुबाट प्राप्त सुझाव अनुसार आगामी वर्ष अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवस वृहत् रुपमा मनाइने मन्तव्यसहित कार्यक्रम समापन गरेकी थिइन्  । कार्यक्रम कंगन रेष्टुरेण्टमा सम्पन्न भएको थियो ।

    गत वर्षदेखि गैर–आवासीय नेपाली संघले विश्वव्यापी रुपमा भानुजयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवसको रुपमा मनाउँन शुरु गरेको छ ।

  • कमेन्ट गर्नुहोस्