• एनआरएनएमा पुन: राधिका गुरुङ

    दोश्रो पुस्तामा हस्तान्तरण अत्यावश्यक –पन्त

    सातौं अधिवेशनबाट निर्वाचित एनआरएनए हङकङ कार्यसमिति । तस्बिर: विक्रम गुरुङ ।
  • २८ जुलाई । गैर–आवासीय नेपाली संघ (एनआरएनए)को सातौं अधिवेशनले राधिका गुरुङलाई दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ ।

    अध्यक्ष पदमा मात्र भएको निर्वाचनमा राधिका गुरुङले २ सय ७५ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी निराजन गुरुङले १ सय ६२ मत प्राप्त गरेका थिए ।

    ९ सय ५५ मतदाता रहेकोमा लगभग ४६ प्रतिशतले मात्र मतदान गरेका थिए । मतदाता नामावलीमा नाम भए पनि अद्यावधिकमा भएको कमजोरीले ५ प्रतिशतल जति मताधिकारबाट बन्चित रहेका थिए । अद्यावधिकमा हङकङ आईडी नम्बर तल–माथि रहेको पाइएको थियो ।

    अध्यक्ष बाहेक अन्य पदाधिकारी निर्विरोध चयन भएका छन् । निर्विरोध भएकाहरुमा उपाध्यक्ष कर्मा गुरुङ र किसन राई, महासचिव गोकर्णप्रसाद ढकाल, सचिव डिल्लिराम विश्वकर्मा, कोषाध्यक्ष सन्तोषकुमार गुरुङ रहेका छन् ।

    महिला र युवा संयोजकमा क्रमशः अनु राई र प्रेम लामा निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध चयन भएका सदस्यहरु विजयकुमार गुरुङ, अर्जुन गौचन र अरविन सिंह रहेका छन् ।

    प्रमुखअतिथि अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)का उपाध्यक्ष कुमार पन्तले शुभकामना मन्तव्यको क्रममा गैर–आवासीय नेपाली अभियान दोश्रो पुस्तामा हस्तान्तरण हुन अत्यावश्यक रहेकोमा जोड दिएका थिए । उनका अनुसार यदि त्यसो हुन नसके एनआरएनएको भविष्य छैन ।

    उनले एनआरएनए स्थापनाको एउटै उद्देश्य भनेको भोलिका नेपालीले बाध्यतावश विदेशिन नपर्ने अवस्था सिर्जनाका लागि समृद्ध नेपालको निर्माण रहेको बताएका थिए ।

    “विश्वभर रहेका गैर–आवासीय नेपालीहरु रोजगार र अध्ययनका लागि बाध्यतावश विदेशिएका हौ” उनले भने, “नेपाल समृद्ध भए कोही पनि बाध्यतावश विदेशिन पर्दैन । त्यसकै लागि एनआरएनएको स्थापना गरिएको हो ।”

    इन्डिया क्लवमा आयोजित कार्यक्रमको उद्घाटन सत्रमा हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, एनआरएनए संरक्षक परिषद्का सदस्य त्रिलोक गुरुङ, संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डे, सल्लाहकार समितिका सदस्य हेम लिम्बू, आईसीसी सदस्य क. मीनबहादुर गुरुङ र एशिया–प्रशान्त क्षेत्रीय उपसंयोजक विनोद कुवरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    नेपाल आदिवासी जनजाति महासंघका महासचिव कृष्णराज लाओती, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, आईसीसी सदस्य दिलिप सिं गुरुङ र संरक्षक परिषद् र सल्लाहकार समितिका सदस्यहरु अतिथि रहेका थिए ।

    राधिका गुरुङको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष निरञ्जन गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालक महासचिव किसन राई रहेका थिए ।

    हेजेन राई संयोजक रहेको अध्यक्ष मण्डल तथा निर्वाचन समितिमा डासुराम पराजुली र देव गुरुङ सदस्य रहेका थिए । आर्थिक र सांगठानिक प्रतिवेदन पारित गरेको बन्दसत्रले विधान संसोधन समेत गरेको थियो । संशोधित विधान अनुसार सहकोषाध्यक्ष पद थप भएको छ भने २१ सदस्यीय कार्यसमिति १९ सदस्यीय बनेको छ ।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad