• सरकारसंग आदिवासीको मुठभेट हुनसक्छ –बराम

    सम्बोधनकाे क्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम । तस्बिर: विक्रम गुरुङ ।
  •  

    ११ अगस्त । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले ‘आरक्षण बचाउ’ आन्दोलनको मागलाई आउदो साउन ३१ सम्ममा सम्बोधन नगरिए सरकारसंग मुठभेड हुनसक्ने बताएका छन ।

    २५ औ विश्व आदिवासी दिवसको अबसरमा नेपाल आदिवासी जनजाति महासंघ हङकङद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि उनले सम्बोधनको क्रममा उक्त चेतावनी दिएकाहुन ।

    माग पूरा नभए श्रावण ३२ गते देशभर घरेलु हातहतियार सहितको जुलुस प्रदर्शन हुने बताउदै उनले भने, ‘यो आन्दोलन विगतका जस्तो कसैलाई सिँढी चढाउने नभई सच्चा अधिकार प्राप्तिको लागि हो ।’

    यो आन्दोलन कुनै राजनैतिक दलसंग नजोडिएको र भविष्यमा पनि नजोडिने प्रतिबद्धता जनाउदै उनले महासंघका पदाधिकारीहरु विगतमा जस्तो सार्वजनिक पदमा नबस्ने निर्णय भएको बताए ।

    अध्यक्ष बरामले भव्य र उल्लासका साथ मनाउनु पर्ने विश्व आदिवासी दिवस सडकमै मनाउन सरकारले बाध्य बनाएको दुःखेसो पोखेका थिए । उनका अनुसार दुई–तिहाईको जननिर्वाचित गणतान्त्रिक सरकारले जनइच्छा विपरीत आदिवासी जनजातिको आस्था र पहिचानमाथि धावा बोलिरहेको छ ।

    ऐन अनुसार आदिवासी जनजाति, दलित, महिलालगायतका लागि आरक्षण गरिएको ४५ प्रतिशतको व्यवस्थालाई बेवास्ता गर्दै स्थानिय तहको लागि लोकसेवा आयोगले ९ हजार १ सय ६१ कर्मचारी भर्ना सम्बन्धी विज्ञापन गरेपछि महासंघसंग आन्दोलनको विकल्प नरहेको उनको जिकिर रहेको थियो ।

    गैर कानुनी रुपले विज्ञापन गरिएको विरुद्ध मुद्दा दर्ता गरिए पनि संविधान र कानुनको संरक्षकको भूमिकामा रहेको सर्वोच्च अदालतले समेत लोकसेवा आयोगको असमावेशी विज्ञापनलाई नै सदर गरेपछि जीवन–मरणको लडाईँका लागि सडकमा उत्रनु परेको उनको दावी रहेको थियो ।

    हेनरी जी ल्योङ याउमाते कम्युनिटि सेन्टरमा आयोजित कार्यक्रममा गैर आवासीय नेपाली संघ हङकङका अध्यक्ष टीका गुरुङ र महासंघ अन्तर्गतका जातीय सदस्यका उपस्थित अध्यक्षहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    महासंघका सल्लाहकारहरु र हङकङ नेपाली महासंघका महासचिव नवीन सुहाङ लिम्बूलाई विशेष आतिथ्य प्रदान गरिएको कार्यक्रममा हङकङस्थित नेपालका राष्ट्रियता मान्यता प्राप्त राजनतिक पार्टिका प्रतिनिधिहरु पनि अतिथि रहेका थिए ।

    आदिवासी वर्ष पुरुष र महिला २०१९ क्रमश हस्तबहादुर अरुम्हाङ र रीता गुरुङ । तस्बिर: विक्रम गुरुङ ।

    सोही समारोहमा आदिवासी वर्ष पुरुष र महिला २०१९ घोषित हस्त बहादुर अरुमहाङ ‘पोरोक्मी’ र रीता गुरुङलाईसम्मान गरिएको थियो ।

    महासंघका अध्यक्ष किसन राईको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चालक महासचिव कृष्ण लाओती रहेका थिए । कार्यक्रमको शुरुवात उपाध्यक्ष कविता थापा मगरको स्वागत मन्तव्यबाट शुरु भएको थियो ।

  • कमेन्ट गर्नुहोस्