कोभिड-१९ विरुद्ध इटालीमा लड्न चीनले पठायो चिकित्सक टोली
एभरेष्टखबर
March 12, 2020
आफ्नो देशमा नोवेल कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण गर्न उल्लेखनीय सफलता प्राप्त गरेको चीनले अन्य देशहरुमा सहयोग पनि थालेको छ। कोभिड-१९ बाट अति प्रभावित युरोपेली मुलुक इटालीमा चिकित्सकको टोलीसहित चीनले सहयोग सामाग्री पठाएको छ।
यसअघि बेइजिङले इरान र इराकमा पनि मेडिकल टिमसहित सहयोग पठाएको थियो। हालसम्म विश्वभर ४ हजार दुई सय जना भन्दा बढी मानिसको ज्यान गइसकेको छ भने एक लाख २१ हजार बढीमा संक्रमण देखा परेको छ।
चीन पछि कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित देश हो, इटाली। मंगलवारमात्र इटालीमा १ सय ६८ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म इटालीमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ६ सय ३१ जना पुगेको छ। १० हजार जना भन्दा बढी मानिसमा संक्रमण देखिएको छ। यतिबेला रोमले ६ करोड जनसंख्यालाई लक डाउनमा राखेको छ।
इटालीको छिमेकी फ्रान्स र जर्मनीमा पनि संक्रमण बढीरहेको छ। जर्मनीका चान्सलर एन्जेल मर्केलले जर्मनीमा ७० प्रतिशत जनता कोरोना भाइरसको सम्पर्कमा जान सक्ने भन्दै यसतर्फ सजग हुन त्यहाँको संसदमा बताएकी छन्।
चिनियाँ रेडक्रस सोसाइटी नेतृत्वको एक स्वास्थ्य विज्ञसहितको टोली मेडिलक उपकरण तथा सामाग्री लिएर बुधवार इटालीका लागि हिँडेको छ।
मंगलवार अबेर मात्र चिनियाँ विदेशमन्त्री वाङ यी र इटालीका समकक्षी लुइगी डि माइयोबीच टेलिफोन सम्वाद भएको थियो। सम्वादमा चीनको अनुभवबाट इटालीले पनि कोभिड-१९ विरुद्ध लड्ने बताउँदै सहयोगका लागि आग्रह गरेका थिए।
सम्वादका क्रममा चिनियाँ विदेशमन्त्री यीले चीनले भेडिकल सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। चीनले पठाएको सात सदस्यीय टोलीमा चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका विज्ञहरु, सिचुवान विश्वविद्यालयको वेस्ट चाइना अस्पतालका दुई जना विशेषज्ञ टोली रहेका छन्।
कमेन्ट गर्नुहोस्

















