• चौरजहारी हत्या प्रकरणमा हङकङबाट ज्ञापन पत्र

    ज्ञापन पत्र बुझ्ने क्रममा कार्यवाहक कन्सुल जनरल किरणकुमार गुरुङ (कोट) । तस्बिर: एभरेष्टखबर ।
  •  

    जुन ३० । चौरजहारी हत्या प्रकरणलाई लिएर हङकङ नेपाली अल्पसंख्यक संगठनले कन्सुलेट जनरलमार्फत नेपालको गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । अन्तरजातीय प्रेम सम्बन्धका कारण ६ जनाको हत्या गरिएको घटना जातीय नरसंहार भएको र जघन्य अपराधका अपराधीहरुलाई कानुन बमोजिम हदैसम्मको सजाय हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

    घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै उक्त कार्यका लागि राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षाकर्मी, मानवाधिकारकर्मी, बुद्धिजीवि, सञ्चारकर्मी र संघसंस्थालगायतलाई सहयोग गर्न ज्ञापन पत्रमा आह्वान गरिएको छ ।
    ज्ञापन पत्रको अन्तमा पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाउँन सम्बन्धित निकायलाई अनुरोध गर्दै जातीय भेदभाव र छुवाछुतजस्ता कुसंस्कारको अन्त गर्न जोडदार माग गरिएको छ ।

    कार्यवाहक कन्सुल जनरल किरणकुमार गुरुङलाई ज्ञापन पत्र हस्तान्तरण गर्न अघि  प्रमुख सल्लाहकार बमबहादुर विश्वकर्मा र सल्लाहकार राजु बराईलीले २१औं शताब्दीमा जातीय छुवाछुतले नरसंहार हुनु विडम्वना रहेको उल्लेख गर्दै मन्तव्य व्यक्त गरेका थिए ।

    कन्सुलेट जनरल प्राङ्गणमा प्लेकार्ड प्रदर्शन तथा नाराबाजी गर्दै हङकङ नेपाली अल्पसंख्यक संगठनका प्रतिनिधिहरु । तस्बिर: एभरेष्टखबर ।

    अध्यक्ष गोविन्द विश्वकर्माले हस्तान्तरण गरेको ज्ञापन पत्र बुझिलिदै कार्यवाहक कन्सुल जनरल गुरुङले सम्बन्धित निकायमा पुर्‍याउने वचनवद्धता व्यक्त गरेका थिए । सोही क्रममा उनले छानबिनको प्रक्रिया चलिरहेकोले दोषीलाई कार्वाही हुने र पीडितले न्याय पाउने विश्वास व्यक्त गरेका थिए ।

    हस्तान्तरण गर्न अघि संगठनका सचिव गोपाल सिवाले ज्ञापन पत्र वाचन गरेका थिए । सोही अवसरमा कन्सुलेट जनरल प्राङ्गणमा ‘जातीय भेदभाव अन्त गर’, जातीय छुवाछुत विरुद्ध एक हौं’ लेखिएका प्लेकार्ड प्रदर्शन तथा नाराबाजी गरिएका थिए ।

  • कमेन्ट गर्नुहोस्