• एभरेष्टको कार्यकारी सम्पादकमा श्रेष्ठ

  •  

    जुलाई २१ । डम्बरकृष्ण श्रेष्ठ एभरेष्ट मिडिया लिमिटेडमा पुनः आवद्ध भएका छन् । उनी एभरेष्ट खबरपत्रिका र एभरेष्टखबर डटकमका कार्यकारी सम्पादकमा नियुक्त भएका हुन् ।

    पत्रकारितामा २५ वर्षको अनुभव सँगालेका श्रेष्ठ चार वर्ष अघिसम्म एभरेष्ट साप्ताहिकका नेपाल संयोजक रहेका थिए । १२ वर्षको जिम्मेवारीपछि उनी सन् २०१६ मा हङकङ आएका हुन् ।

    हङकङ आएदेखि नै उनी विभिन्न संघ संस्थाका स्मारिका सम्पादनसँगै नेपाली लाईफ युटुब च्यानल मार्फत मिडियामा संलग्न रहेका छन् ।

    नेपाली पत्रकारिताको अढाई दशकमा वैदेशिक रोजगार र यसका विविध आयामका साथै समाज, कला, संस्कृतिलगायतमा कलम चलाइरहेका श्रेष्ठको हालै सोसल साईन्स बहा: र हिमाल किताबबाट ‘नेपाली प्रवासन : नियती र रहर’ पुस्तक प्रकाशन भएको छ । जसमा हङकङ, कतार, मलेसियाका साथै सिंगापुर, युरोप र अमेरीकाका नेपाली जीवनका सुख–दुःख समेटिएका छन् ।

    वि. सं. २०५२ सालबाट धरानको सयपत्री र राजधानीबाट प्रकाशित प्रतिपक्ष साप्ताहिकमा पत्रकारिता आरम्भ गरेका डम्बरकृष्ण श्रेष्ठ एक दशक स्थानीय न्युज टाइम्स, मर्निङ पोष्ट, नेपाल समाचारपत्र दैनिकमा संवाददाता र धरान टाइम्सका सम्पादक रहेका थिए । उनी विजयपुर एफएमका संस्थापक सदस्य हुन् ।

    वि. सं. २०६१ सालदेखि हिमाल खबरपत्रिकामा आबद्ध उनले संवाददाता, समाचार संयोजक, हिमालखबर डटकम संयोजकको जिम्मेवारी समेत बहन गरेका छन् । यस बीचमा नयाँ नेपाल (कतार) र नेपाली आवाज (अमेरिका)समेत उनले सम्पादन गरेका थिए ।

    पत्रकार श्रेष्ठ ‘अनुशील’ उपनामबाट साहित्य लेखनमा समेत सक्रिय छन् । ‘हामी र हाम्रा सपना’ लेख संग्रहका लेखक र गीतकार (आरोही गीति अल्बमलगायत अन्य) समेत रहेका उनले ‘हङकङका नेपाली’ र ‘डढेलोभित्रका सतिसाल’ वृत्तचित्र निर्देशन पनि गरिसकेका छन् ।

    अनुभवी पत्रकार श्रेष्ठलाई एभरेष्ट मिडियामा स्वागत छ । उनको पुनः आवद्धताले हङकङको नेपाली समाजको विविध आयाम अझ परिस्कृत रुपमा आउने विश्वास गरिएको छ ।

  • कमेन्ट गर्नुहोस्