• हङकङ–काठमाडौं नियमित उडान हुने

  •  

    अगष्ट २६ । कोरोनाभाइरस (कोभिड–१९) महामारीको कारण अवरुद्ध भएको हङकङ–काठमाडौं नियमित उडान सुचारु हुने भएको छ । नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानमा रहेका नेपाल एयरलायन्स र क्याथे ड्रागनलाई स्वीकृति प्रदान गरेको छ ।

    मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको पत्रमा उल्लेखित पहिलो तालिका अनुसार क्याथे ड्रागनको उडान सेप्टेम्बर ३ र १७ मा र नेपाल एयरलायन्सको उडान सेप्टेम्बर ९ र २३ का दिन हुने छ । उडानबाट नेपाल जाने यात्रुहरुका लागि मन्त्रालयले केही शर्त उल्लेख गरेको छ ।

    नेपाली नागरिकबाहेक नेपालस्थित विदेशका कुटनीतिक नियोगमा कार्यरत, अन्तर्राष्ट्रिय विकास साझेदार संस्था र संयुक्त राष्ट्रसंघका कर्मचारी, पदाधिकारी र तिनका परिवारमात्र यस उडानबाट नेपाल जान पाउनेछन् ।

    नेपाल जाने यात्रुहरुले उडान हुनु ७२ घण्टा भित्रको पीसीआर टेस्ट नेगेटिभ रिपोर्ट उपलब्ध गराउँनु पर्ने छ । त्यसैगरि उनीहरु १४ दिने होम क्वारेन्टिनमा अनिवार्य बस्न पर्ने छ । त्यसैगरी उड्न अघि कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेवसाइटमा अनलाइन फर्म भरी बारकोडसहित प्रिन्ट गरेर लान पर्ने छ ।

    कार्यवाहक कन्सुल जनरल किरणकुमार गुरुङले हङकङमा रहने नेपाली मूलका विदेशीलाई अत्यावश्यक कामको लागि भिसा प्रदान गर्न सकिने बताएका छन् । उनका अनुसार नेपालबाट आउने यात्रुहरुका लागि हङकङ सरकारले पीसीआर टेस्ट नेगेटिभ रिपोर्ट र १४ दिने होटल बुकिङ अनिवार्य गरेको छ ।

    नेपाल वायुसेवा निगमका क्षेत्रीय प्रबन्धक नवराज उपाध्यायले रिटर्न टिकट लिएर गएका यात्रुहरुले सोही टिकटमा फर्कन पाउने बताएका छन् । उनका अनुसार नयाँ टिकटका लागि भने केही बढी हुने सक्नेछ । उनले भने, ‘हेड अफिसबाट अहिलेसम्म टिकटको मूल्य तोकिएको छैन, तर विगत भन्दा केही बढी हुन सक्छ । मेरो विचारमा वन वेको हङकङ डलर ४५ सयको वरिपरि हुनसक्छ ।’

    FlightSchedule77_5_9

  • कमेन्ट गर्नुहोस्