• सरकारलाई जनजाति महासंघको धन्यवाद

    कावा कन्सुल जनरल किरणकुमार गुरुङ (बीच)लाई धन्यवाद ज्ञापन पत्र हस्तान्तरणा गर्दै जनजाति महासंघका वर्तमान (दाँया) र निवर्तमान अध्यक्ष ।
  •  

    ६ सेप्टेम्बर । १४ वर्षदेखिको मागलाई सम्बोधन गर्दै आदिवासी जनजाति मूलको नेपाली कन्सुल जनरल नियुक्त गरेकोमा नेपाल आदिवासी जनजाति महासंघ हङकङले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । अगष्ट ३० का दिन झापाका सीडीयो रहेका सहसचिव उदयबहादुर रानामगरलाई हङकङका लागि महावाणिज्यदूत नियुक्त गरिएको छ ।

    महासंघले विज्ञप्तिमार्फत धन्यवाद ज्ञापन गर्दै आगामी महावाणिज्यदूत पनि संविधानको मर्म अनुरुप नेपालको विविधता अनुसार समावेशी सिद्धान्त र योग्यताको आधारमा नियुक्त गर्न अनुरोध गरेको छ ।

    माग पूरा गराउँने क्रममा भएका आन्दोलन र कार्यक्रमका सहभागी तथा सहयोगीसमेतलाई धन्यवाद दिइएको अध्यक्ष किसन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा ती कार्यक्रमले कतिपय प्रसंगमा सिर्जना गरेका प्रतिकूल अवस्थाहरुमा सिर्जना भएका असुविधाप्रति क्षमा याचनासमेत गरिएको छ ।

    ‘१४ वर्षे आन्दोलनका कारण सिङ्गो समुदाय प्रभावित भएको सर्वविदितै छ । यसले समुदायमा एक प्रकारको अभाव सिर्जना भएको छ । माग पूरा भएको अवस्थामा त्यसको पूर्ति गर्न सबै लाग्नुको विकल्प रहेको छैन । यसका लागि हिजोको आत्मा समीक्षा गर्दै भोलिको योजना बनाउँन आवश्यक छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    विज्ञप्तिको अन्तमा नेपालको सन्दर्भमा अझै पनि आदिवासी जनजातिका मुद्दाहरु सम्बोधन हुन बाँकी नै छन् र आन्दोलन जारी रहेको र संविधान संशोधनका प्रसंग पनि रहेको उल्लेख गर्दै ‘नेपाल र नेपाली सर्वोच्चता’ महान रहने बताइएको छ । त्यसैगरि हङकङका सम्पूर्ण नेपालीलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा समाहित हुन आह्वानसमेत गरिएको छ ।

    विज्ञप्तिकै व्यहोराको पत्र कार्यवाहक कन्सुल जनरल किरणकुमार गुरुङलाई महासंघका अध्यक्ष किसन राई र निवर्तमान अध्यक्ष मैनबहादुर थापामगरले हस्तान्तरण गरेका छन् ।

  • कमेन्ट गर्नुहोस्