• १७ औं एनआरएन डे सम्पन्न

    कार्यवाहक कन्सुल जनरल किरणकुमार गुरुङ दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्धाटन गर्दै । तस्बीर: विक्रम गुरुङ ।
  •  

    ११ अक्टुबर । गैर-आवासीय नेपाली संघ हङकङले एनआरएन डे (गैर-आवासीय नेपाली दिवस) सम्पन्न गरेको छ । कार्यवाहक कन्सुल जनरल किरणकुमार गुरुङको प्रमुखआतिथ्य रहेको कार्यक्रम कङ्गन रेष्टुरेण्टमा सम्पन्न भएको थियो ।

    दीप प्रज्ज्वलन र नेपालको राष्ट्रगानबाट शुरु भएको कार्यक्रममा प्रमुखअतिथि गुरुङले हङकङका एनआरएनबाट संस्था स्थापनाको उद्देश्य अनुरुप नेपालको लागि योगदान पुग्न नसकेकोमा असन्तुष्टि व्यक्त गरे । उनका अनुसार एनआरएनए स्थापनाको उद्देश्य नेपालबाट लिने मात्र होइन दिने पनि हो ।

    “मेरो १५ महिनाको अनुभवमा एनआरएन कार्ड बनाउँन आउनु हुने अधिकांशको अभिप्राय नेपाल बस्दा भिसाको समस्या नहोस् भन्ने रहेको पाएँ”, उनले असन्तुष्टि व्यक्त गर्ने क्रममा भने, “एनआरएनए स्थापनाको उद्देश्य भनेको बाहिर सिकेका ज्ञान, सीप र धन नेपालमा लगानी गर्ने पनि हो ।”

    उपाध्यक्ष किसन राईको स्वागत मन्तव्य रहेको कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)का सल्लाहकार त्रिलोक गुरुङ, आईसीसी सदस्य दिलिपसिं गुरुङ, आईसीसी पूर्व कोषाध्यक्ष तेजप्रकाश पुन, संरक्षक परिषद् सदस्य दुर्गाबहादुर गुरुङ, सल्लाहकार समिति सदस्य जसबहादुर ओख्राबो र हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानमगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रमको समापन गर्दै अध्यक्ष राधिका गुरुङले कोभिड-१९ अन्तर्गत हङकङ सरकारले तय गरेको स्वास्थ्य सुरक्षा नियमलाई पालना गर्दै सिमित सहभागितामा कार्यक्रम गर्नु परेको गुनासो व्यक्त गरेकी थिइन् । मन्तव्यको क्रममा उनले हङकङमा रहेका गैर-आवासीय नेपालीको सर्वाङ्गिण विकास र आवश्यकता परिपूर्तिका लागि एनआरएनए क्रियाशील रहेको बताएकी थिइन् ।

    महासचिव गोकणर्प्रसाद ढकालको सञ्चालन रहेको कार्यक्रममा चीनको ७१औं स्थापना दिवसमा ‘चिफ एक्ज्युकेटिभ्स कमेन्डेसन फर कम्युनिटि सर्भिस’बाट सम्मानित किसन राईलाई मायाको चिनोसहित बधाई ज्ञापन गरिएको थियो । सोही समारोहमा एनआरएनए युवा विभागले आयोजना गरेको ‘ग्लोबल स्पिच कम्पिटिसन’मा हङकङका सहभागीद्वय आर्यना राई र रोजी थापालाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

  • कमेन्ट गर्नुहोस्