• नेपाल एयरलायन्सलाई फेरि प्रतिबन्ध

  •  

    २२ अक्टुबर । नेपाल एयरलायन्सलाई हङकङमा फेरि दुई साता प्रतिबन्ध लगाइएको  छ । हिजोको फ्लाइट आरए४००९ का ९ जना यात्रुमा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण भेटिएपछि सिभिल एभियसन डिपार्टमेन्ट (सीएडी) हङकङले उक्त निणर्य गरेको हो ।

    अक्टुबर ५ को उडानमा ६ जना संक्रमित भेटिएपछि नेपाल एयरलायन्सलाई पहिलो पटक प्रतिबन्ध लगाइएकाे थियो । प्रतिबन्ध लागेपछिका दुई उडान स्थगित भएकोले हिजोको उडान वाइड बडी एयरबस३३०बाट गरिएको थियो । दोश्रो प्रतिबन्ध नोभेम्बर ४ सम्म रहने भएकोले दुई उडानलाई असर पर्ने छ । सीएडीले नेपाल एयरलायन्सलाई साताको एक उडानको मात्र अनुमति दिएको छ ।

    आजको नियमित कोभिड-१९ सम्बन्धी पत्रकार सम्मेलनमा स्वास्थ्य विभागले २४ घण्टामा ११ जना संक्रमित भेटिएको जानकारी गराइएको थियो । तीमध्ये १ जना पाकिस्तानबाट आएका यात्रु छन् भने एकजना स्थानीय । स्थानीयको सङ्क्रमण श्रोत पत्ता लागेको छैन । ६६ वर्षिय पुरूष क्वाई चुङस्थित अपाङ्गहरूको स्याहार गर्ने संस्था होम अफ ट्रेजरमा बस्थे । त्यहाँ पहिले नै १९ जना सङ्क्रमित फेला परेका छन् ।

    गएको साता नयाँ सङ्क्रमित घट्दै गएका छन्। तर दैनिक फेला पर्ने सङ्क्रमित भने तलमाथि भइरहेको छ । कहिले दोहोरो अङ्कसम्म पनि पुग्ने गरेको छ । आजसम्म जम्मा ५२८० जना सङ्क्रमित फेला परेका छन् भने १०५ जनाको मृत्यु भइसकेको छ ।

    सरकारले यो सातादेखि भौतिक दुरीको नियम केहि खुकुलो बनाउने भएको छ । तीस जनासम्मको स्थानीय टुर समूहलाई अनुमति दिइने भएको छ । विवाह समारोहमा पचास जनासम्म सहभागी हुन पाउनेछन् । तर खाना वा पेय पदार्थ दिन पाइने छैन। यसअघि बीस जनासम्म सहभागी हुन पाउँथे ।

    नयाँ नियम शुक्रबारदेखि लागु हुनेछ ।

  • कमेन्ट गर्नुहोस्