• संक्रमित यात्रु अधिक देखिएकोमा एनआरएनएको ध्यानाकर्षण

    कार्यवाहक कन्सुल जनरल किरणकुमार गुरुङ (बायाँ)लाई ध्यानाकर्षण पत्र बुझाउँदै एनआरएनए प्रतिनिधि मण्डल । तस्बिर सौजन्यः एनआरएनए हङकङ ।
  •  

    नोभेम्बर १३ । नेपालबाट हङकङ आउने यात्रुमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या अधिक देखिएपछि नेपाल एयरलायन्सको उडान तेश्रो पटक निलम्बनमा परेको विषयमा गैर–आवासीय नेपाली संघ–एनआरएनए हङकङले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

    कन्सुलेट जनरलमार्फत बुझाइएको ध्यानाकर्षण पत्रमा नेपाल एयरलायन्सको उडान तीन पटक दुई हप्ते निलम्बन भइसकेकोले अनिश्चितकालिन निलम्बन हुन सक्नेतर्फ सचेत गराइएको छ । त्यसैगरी नेपालमा गरिएका पीसीआर परीक्षणमा समेत आशंका व्यक्त गर्दै अनुगमन तथा पर्यवेक्षण गर्नसमेत अनुरोध गरिएको छ ।

    पटक–पटकको निलम्बनले नेपालको प्रतिष्ठा र हङकङमा रहेका नेपालीको इज्जतमा असर पर्ने भएकोले यस विषयलाई गम्भीर रुपमा लिन ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ । उक्त पत्रको बोधार्थ कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति, स्वास्थ्य मन्त्रालय, नेपाल वायुसेवा निगम केन्द्रीय र हङकङ कार्यालयलाई दिइएको छ ।

    संघकी अध्यक्ष राधिका गुरुङको नेतृत्व रहेको प्रतिनिधि मण्डलले बुझाएको ध्यानाकर्षण पत्र कार्यवाहक कन्सुल जनरल किरणकुमार गुरुङले सम्बन्धित निकायमा पेश गर्ने बताएका छन् । उनका अनुसार एनआरएनएजस्तै कन्सुलेट पनि यस विषयमा चिन्तित रहेको छ ।

    उनले एभरेष्टखबरमार्फत यात्रुहरुलाई पीसीआर परीक्षणका लागि स्वाब बुझाएपछि सतर्कता अपनाउन अनुरोध गरेका छन् । स्वाब बुझाएपछि किनमेलमा र विदाई भेटघाटमा लाग्दा संक्रमण भएको हुनसक्ने अनुमान उनले गरेका छन् ।

    यस विषयमा नेपाल एयरलायन्सका हङकङ प्रबन्धक नवराज उपाध्यायले हङकङले तय गरेको उडान सम्बन्धी नीति तथा निर्देशिकामा अनिश्चिितकालिन निलम्बनको व्यवस्था नभएको र कुनै पनि उडानमा पाँच वा सो भन्दा बढी संक्रमित भेटिएमा १४ दिन निलम्बन हुने व्यवस्था भएको बताएका छन् ।

    प्रबन्धक उपाध्यायका अनुसार १० नोभेम्बरको उडानमा १४ जना संक्रमित भेटिएपछि नेपाल एयरलायन्स तेश्रो पटक चौध दिने निलम्बनमा परेको छ । निलम्बन अवधि पूरा भएपछि अर्को उडान गर्ने तयारीमा निगम रहेको उनले जानकारी गराएका छन् ।

    एनआरएनएकी अध्यक्ष राधिका गुरुङले सरकारले तोकेकै ल्याब तथा हस्पिटलबाट नेगेटिभ प्रमाणपत्र लिएर आएका यात्रुहरुमा पोजिटिभ अत्याधिक देखिएकोले सरकारको ध्यानाकर्षण गराइएको हो । उनले आउदा दिनमा सरकारबाट सम्बन्धित विषयमा गम्भीरताका साथ अनुगमन तथा पर्यवेक्षण हुने आशा व्यक्त गरिन् ।

  • कमेन्ट गर्नुहोस्