• कन्सुलेटको संरक्षकत्वमा अग्नि पीडितलाई सहयोग

    छलफल कार्यक्रममा दायाँबाट कावा कन्सुल जनरल किरणकुमार गुरुङ र प्रतिनिधिमूलक नेपाली संस्थाका अध्यक्षहरु तस्बिरः एभरेष्टखबर ।

    नोभेम्बर २३ । नेपाली कन्सुलेट जनरलको संरक्षकत्वमा याउमाते अग्नि पीडित सहयोग समन्वय समिति गठन गरिएको छ । गैर-आवासीय नेपाली संघको संयोजकत्वमा गठित समितिको सदस्यमा नेपाल आदिवासी जनजाति महासंघ र नेपाल चेम्बर अफ कमर्स रहेका छन् ।

    कन्सुलेट जनरलको आह्वानमा भएको हङकङमा रहेका प्रतिनिधिमूलक नेपाली संघ संस्थाको छलफलले उक्त समिति गठन गरेको हो । छलफल कार्यक्रम कन्सुलेट जनरलको कार्यालयमा सम्पन्न भएको थियो ।

    कार्यवाहक कन्सुल जनरल किरणकुमार गुरुङका अनुसार पीडित र परिवारलाई समुदायकोतर्फबाट एकीकृत रुपमा सहयोगका लागि समन्वय गर्न समिति गठन गरिएको हो । समितिले पीडितका परिवार र सहयोग गर्न चाहनेबीच समन्वयको भूमिका निर्वाह गर्ने छ ।

    “पीडितका बारेमा जानकारी लिने र सहयोग गर्न चाहनेहरुले कन्सुलेटमा सम्पर्क गरिरहनु भएकोले समितिको आवश्यकता खट्कियो”, कार्यवाहक कन्सुल जनरल गुरुङले भने, “त्यो बाहेक पीडित र तिनका परिवारलाई आवश्यकीय सहयोगमा समन्वय गर्न समुदायकोतर्फबाट आधिकारिक संयन्त्र आवश्यक भएकोले समिति गठन गरिएको हो ।”

    उनले समितिको कामलाई कन्सुलेट जनरलबाट सुपरिवेक्षण हुने बताएका छन् । समितिले आवश्यकता अनुसार उपसमितिहरु गठन र जिम्मेवारीको बाडफाँट गर्ने उनको भनाइ रहेको छ ।

    बैठकमा गैर-आवासीय नेपाली संघका अध्यक्ष राधिका गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राई र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली उपस्थित रहेका थिए ।

    संयोजक गैर-आवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङका अनुसार पीडित परिवारका प्रतिनिधिसहित समितिको बैठक बस्ने र त्यसले कार्यविधि बनाउने तथा जिम्मेवारीको बाडफाँट गर्नेछ ।

  • कमेन्ट गर्नुहोस्