• नेकपा विवादको बाछिटा : हङकङ अध्यक्ष कार्वाहीमा

  •  

    जनवरी ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको बाछिटा हङकङ आइपुग्दा स्थानीय कमिटिका अध्यक्ष जस बहादुर ओख्राबु कार्वाहीमा परेका छन् । नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च हङकङले विज्ञप्तिमार्फत उनलाई पदमुक्त गरिएको जानकारी गराएको छ ।

    उनलाई पदमुक्त गरिएपछि अध्यक्षमा भक्त गुरुङ र सचिवमा दलहाङ नेम्बाङलाई चयन गरिएको छ । नयाँ अध्यक्ष गुरुङ हस्ताक्षरित विज्ञप्तिमा नेकपाको आन्तरिक विधान २०७५ को धारा ५६ बमोजिम ओख्राबुलाई अनुशासनको कार्वाही गरिएको उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा अध्यक्ष जस बहादुर ओख्राबुले विषम राजनैतिक परिस्थितिमा तथा मञ्चको आन्तरिक तथा बाह्य गतिविधिहरुमा कुनै परामर्श वा बैठकको निर्णय बिना नै विधि, पद्धती, मर्यादा, प्रकृया र अनुशासन विपरितका अमर्यादित र अस्वभाविक गतिविधिमा संलग्न भई मञ्चलाई गुमराहमा राखेको आरोप लगाइएको छ ।

    अध्यक्ष भक्त गुरुङले छुट्टै विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको विघटन र निर्वाचन घोषणाको स्वागत गरेका छन् । विज्ञप्तिमा नेकपाभित्रको अस्वभाविक अन्तर पार्टी विग्रहले सरकारलाई बाधा व्यवधान खडा गरी हलचल गर्नै नदिने अवस्थामा पुर्‍याएकोले आजको जटिल परिस्थिति सृजना भएको उल्लेख गरिएको छ ।

    नेपालमा रहेका जस बहादुर ओख्राबुलाई टेलिफोनमार्फत सम्पर्क गर्दा विज्ञप्तिमा लगाइएको आरोपको खण्डन गरेका छन् । उनले अनुशासन विपरितका अमर्यादित र अस्वभाविक गतिविधिमा संलग्न नभएको र कसैलाई गुमराहमा नराखेको दावी गरेका छन् । चाडै हङकङ फर्कने र मञ्चको बैठक बसेर नेपालको प्रतिनिधि सभा विघटन सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्ने उनले जानकारी गराएका छन् ।

    व्यक्तिगत रुपमा उनले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताएका छन् । उनका अनुसार नेपालको संविधान २०७२ मा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने प्रावधान रहेको छैन । उनले विघटित प्रतिनिधि सभा पुनस्र्थापना हुनु पर्छ भन्ने विचार व्यक्त गरेका छन् ।

    नेपालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि हङकङमा प्रवासी नेपाली मञ्च हङकङ र नेकपा (माओवादी केन्द्र) प्रवास समिति हङकङबीच एकीकरण भई प्रवासी नेपाली एकता मञ्च हङकङ गठन गरिएको थियो । उक्त समितिका अध्यक्ष पूर्व माओवादीबाट जसबहादुर ओख्राबु र सचिव पूर्व एमालेबाट भक्त गुरुङ रहेका थिए ।

    अध्यक्ष जस बहादुर ओख्राबुलाई कार्वाही गरिएकोलाई पूर्व माओवादी केन्द्र प्रवास समितिका सचिव रविन लिङदेनले प्रतिनिधि सभा विघटनका समर्थकहरुको बैठकको निर्णय भन्दै पुनस्र्थापना हुनु पर्छ भन्ने पक्षको बैठक यो आइतबार हुने जानकारी गराएका छन् ।

    प्रतिनिधि सभा विघटन भएपछि ३५ सदस्यीय मञ्चको कार्यसमितिमा रहेका पूर्व माओवादीका १६ जना पुनस्र्थापनाको पक्षमा देखिएका छन् । पूर्व एमालेका १९ जनामध्ये लालबहादुर गुरुङ, हिरामान राई र हरि ढकाल पुनस्र्थापनाको पक्षमा खुलेका छन् । गणेश गुरुङ बेलायत बसाई सरिसकेको अवस्थामा विघटनको समर्थनमा १५ जना देखिएका छन् ।

  • कमेन्ट गर्नुहोस्