कन्सुल जनरल राना मगरले कार्यभार सम्हाले
एभरेष्टखबर
January 7, 2021
जनवरी ७ । नेपाली कन्सुल जनरल उदयबहादुर राना मगरले कार्यभार सम्हालेका छन् । नियुक्तीको चार महिनापछि डिसेम्बर २२ का दिन हङकङ आइपुगेका उनी १४ दिने अनिवार्य कोरेन्टिनमा रहेका थिए ।
कार्यालय जान थालेको दोश्रो दिन आज एभरेष्टखबरसँगको भेटमा कन्सुल जनरल राना मगरले नयाँ वातावरणमा घुलमिल हुन केही दिन लाग्ने बताउँदै भने, “हिजो पहिलो दिन स्टाफ साथीहरुसंग चिनजान गर्ने काम भयो । आजदेखि कार्यालय सम्बन्धमा जानकारी लिन शुरु हुन्छ ।”
१२ वर्षदेखिको नेपाल आदिवासी जनजाति महासंघको मागलाई सम्बोधन गर्दै सरकारले अगष्ट ३० का दिन झापाका प्रमुख जिल्ला अधिकारी रहेका उदयबहादुर राना मगरलाई हङकङका लागि कन्सुल जनरलमा नियुक्त गरेको थियो । महासंघको माग बमोजिम उनी हङकङका लागि आदिवासी जनजाति मूलका पहिलो कन्सुल जनरल हुन् ।
सन् १९९७ मा नेपाली कन्सुलेट जनरल (महावाणिज्यदूतावास) स्थापना भएपछि प्रद्युम्न विक्रम शाह, जैनेन्द्रजीवन शर्मा, माधवप्रसाद घिमिरे, केशवप्रसाद भट्टराई, विनोदकुमार उपाध्याय, महेशकुमार दाहाल र कमलप्रसाद भट्टराई कन्सुल जनरलको रुपमा रहिसकेका छन् ।
कमेन्ट गर्नुहोस्

















