• कोरोना संक्रमणको असर नेपाली समुदायतिर

    संक्रमणपछि जोर्डनको एक भवनबाट अस्पताल लगिंदै गर्दा देखिएको मिडियाको भिड । सबै तस्वीरः डम्बरकृष्ण श्रेष्ठ
  •  

    पछिल्ला दिनमा हङकङका नेपालीमा कोरोनाको संक्रमण बढिरहँदा यसको असर समुदायमा देखिन थालेको छ ।

    नेपालीहरूको बाक्लो बसोबास रहेको याउ मा तेईको जोर्डन क्षेत्रका केही अपार्टमेण्टमा कोरोना संक्रमित पाइएपछि स्वास्थ्य विभागले भवनमा निगरानी बढाएको छ ।

    मंगलबार साँझ थप संक्रमित र तिनका परिवारका सदस्यलाई सरकारी क्वारेन्टिन लगिंदै गर्दा यहाँका मिडियाको बाक्लो उपस्थिति देखियो । एम्बुलेन्समा लैजाँदै गर्दाको भिडियो–फोटो लिन मिडियाको भिड लागेपछि स्थानीय बासिन्दा अझ त्रसित बनेका छन् ।

    संक्रमित रहेको भवन अगाडिबाट टेलिभिजनका लागि प्रत्यक्ष प्रसारण गरिंदै ।

    हङकङको निर्माण क्षेत्रमा कोरोनाको संक्रमण देखिएपछि एकसाता अघिबाटै एकपछि अर्को साइटहरू बन्द भइरहेका छन् । संक्रमणपछि केही कामदार कामबाटै अस्पताल भर्ना भएका छन् भने धेरै क्वारेन्टिनमा पुगेका छन् । काम गर्ने ठाउँमा फैलिएको संक्रमणका कारण त्यसको असर नेपालीको घना बस्ती भएका क्षेत्रमा समेत देखिन थालेको छ ।

    यहाँका वुसुङ स्ट्रिट, पिट स्ट्रिट, टेम्पल स्ट्रिट, रिक्लाइमेशन स्ट्रिट आदिका केही भवनमा संक्रमण देखिएको छ । ती भवनको भुईंतलामै स्वास्थ्य विभागले सूचना टाँसेर सर्वसाधारणलाई जानकारी गराउँदै संक्रमितसँग नजिक भएकाहरूलाई अवस्था हेरेर होम क्वारेन्टिन र सरकारी क्वारेन्टिन सेण्टरमा लगेको छ । जोर्डनको निङ पो स्ट्रिको मीनी बस स्टपसँगैको २०,२२,२४ र २६ रिक्लाईमेशन स्ट्रिटकोसँगै जोडिएको भवनहरुमा हालसम्म २० जना संक्रमीत देखएकोले सावधानी अपनाउन हेल्थ विभागले सुचना नै जारी गरेको छ । ९० वुसुङ स्ट्रिट, १९ पिट स्ट्रिट, १२०–१२४ टेम्पल स्ट्रिटमा समेत संक्रमण देखिएपछि भवनमा रहेका र संक्रमीतहरुको निकटका सबैलाई अनिवार्य कोभिड १९को परिक्षण गर्न हङकङ सरकारले अनुरोध गरेको छ ।

    मंगलबार अघिको २४ घण्टाभित्र हङकङमा थप ६० जनामा कोरोना संक्रमण देखिएपछि कोरोना संक्रमितको संख्या ९,३४४ पुगेको सेन्टर फर हेल्थ प्रोटेसनले जनाएको छ । ६० मध्ये ४७ पुराना केससँग सम्बन्धित देखिएको छ भने १३ जनाको संक्रमणको स्रोत खुलेको छैन ।

    एम्बुलेन्समा आएका स्वास्थ्यकर्मी ।

    समाचारअनुसार आज थपिएका संक्रमितसँगै निर्माण क्षेत्र समेत जोडिएको छ । चुन क्वान ओ – लाम टिन टनेल निर्माण साइटसँग जोडिएका १ जना र सेन्ट्रल काउलुन रूट सेन्ट्रल टनेलसँग जोडिएका ९ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

    हालसम्म हङकङमा ८,५२४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ५६९ जनाको अस्पताल र कोभिड सेन्टरहरूमा उपचार भइरहेको छ, जसमध्ये ४१ जना संक्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    हेलचेक्य्राइँ नगरौं

    हङकङमा कोरोनाको संक्रमण दर बढिरहँदा नेपाली समुदाय त्रसित बनेको छ । कोरोनाका कारण केही अघि एक नेपाली वृद्धाको मृत्यु भए पनि समुदायमा कोरोनाको प्रत्यक्ष असर देखिएको थिएन । तर, अहिले दिनहुँजसो नेपालीहरूमा संक्रमण देखिंदै जानु चिन्ताजनक बनेको छ ।

    यस्तो अवस्थामा अति आवश्यक काम बाहेक हिंडडुल कम गर्न जरुरी छ । हिंड्नैपरे अनिवार्य मास्क लगाऔं, सेनिटाइजरको प्रयोग गरौं । गैरआवासीय नेपाली संघ (एनआरएनए), हङकङ नेपाली महासंघ आदि संस्थाले कार्यालयबाट दैनिकजसो निःशुल्क मास्क वितरण गरिरहेका छन् । संघ–संस्था र समुदायका अगुवाहरूले पनि आ–आफ्नो संस्था र समुदायभित्र छलफल चलाउँदै भेला, जमघट हुन नदिन पहल गर्नु आवश्यक छ ।

    संक्रमणपछि जोर्डनको एक भवनबाट अस्पताल लगिंदै गर्दा देखिएको मिडियाको भिड ।

    यदि कसैमा संक्रमण भइहालेमा संक्रमितको अनुमतिविना परिवारको पहिचान र ठेगाना फेसबुक, इन्स्टाग्राम, ग्रुप च्याटहरूमा नराखौं । कुनै पनि भवनमा प्रवेश गर्नु अघि प्रवेशद्वारमा टाँसिएका सूचनाहरू हेरौं । नजिकको सम्पर्कमा रहेको व्यक्तिलाई संक्रमण भएको थाहा पाएपछि जतिसक्दो चाँडो परीक्षण गरौं, सेल्फ क्वारेन्टिनमा बसौं । हेलचेक्य्राइँ नगरौं, कोरोनाबाट आफू पनि जोगिऊँ र अरुलाई पनि जोगाऔं ।

  • कमेन्ट गर्नुहोस्