• प्रजातन्त्र दिवसमा कन्सुलेट जनरलको शुभकामना

    सम्बोधनको क्रममा कन्सुल जनरल उदयबहादुर राना मगर । तस्बिरः एभरेष्टखबर ।
  •  

    फेब्रुअरी १९ । नेपाली कन्सुलेट जनरल हङकङले एक समारोहबीच ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना आदान-प्रदान गरेको छ । उक्त अवसरमा नवनियुक्त कन्सुल जनरल उदयबहादुर राना मगरले दिवसको महत्व र औचित्यको बारेमा प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए ।

    शुभकामना मन्तव्यको क्रममा कन्सुल जनरल मगरले राजनैतिक स्थायित्वको लागि नेपालको आर्थिक विकासमा जोड दिनु पर्ने बताएका थिए । सोही क्रममा उनले भने, “जुन देशको प्रति व्यक्ति आय १५ सय यूएस डलर भन्दा कम हुन्छ त्यहाँको राजनैतिक परिवर्तन ८ वर्ष भन्दा बढी टिकेको देखिन्न त्यसकारण नेपालको राजनैतिक स्थायित्वको लागि प्रति व्यक्ति आय ३ हजार यूएस डलर भन्दा बढी पुर्‍याउन आवश्यक छ ।”

    २०४६ र २०६२ को राजनैतिक परिवर्तनको जग २००७ सालको राणा विरोधी आन्दोलन रहेको बताउँदै आधारस्तम्भको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र दिवसको आफ्नै महत्व रहेकोमा उनले जोड दिएका थिए । २००७ साल अघि रैती रहेका नेपाली प्रजा हुदै २०६३ सालमा नागरिक भएको उनको कथन रहेको थियो । उनले नागरिक स्वतन्त्रता र सार्वभौम प्राप्तिका लागि आन्दोलन भएको बताएका थिए ।

    कन्सुलेट जनरल प्राङगणमा आयोजित कार्यक्रमको शुरुवात नेपाली राष्ट्रिय गानबाट भएको थियो । शहीदप्रति मौनधारण गरिएको कार्यक्रमको सञ्चालक कन्सुल किरणकुमार गुरुङ रहेका थिए ।

    उक्त समारोहमा नेपालका राष्ट्रिय मान्यताप्राप्त राजनैतिक दलका भातृसंस्थाका प्रमुख र प्रतिनिधिमूलक संस्था गैरआवासीय नेपाली संघ, हङकङ नेपाली महासंघ, नेपाल आदिवासी जनजाति महासंघ र नेपाल च्याम्बर अफ कमर्सका अध्यक्षलगायतको उपस्थिति रहेको थियो । कोभिड-१९को महामारीको कारण लागू गरिएको सामाजिक दूरि सम्बन्धी नियमका कारण सिमितिलाई निमन्त्रण गरिएको जानकारी गराइएको थियो ।

  • कमेन्ट गर्नुहोस्