• कन्सुल जनरलद्वारा गोर्खा समाधिस्थल अवलोकन

    नेपाली कन्सुल जनरल उदयबहादुर राना मगर गोर्खा समाधिमा पुष्पगुच्छा र धुप अर्पण गर्दै । तस्बिरः एभरेष्टखबर ।
  •  

    फेब्रुअरी २१ । नेपाली कन्सुल जनरल उदयबहादुर राना मगरले गोर्खा समाधिस्थल अवलोकन गरेका छन् । बेलायतकालीन हङकङको नेपाली समुदायको एकमात्र चिनोको रुपमा रहेको गोर्खा समाधिस्थल सानतिन, युनलङ (क्यासिनो लाइन)मा रहेको छ ।

    उक्त अवसरमा उनलाई गोर्खा सिमेट्रिज ट्रस्टका अध्यक्ष रत्न खिम्दिङले गोर्खा समाधिस्थलको बारेमा संक्षिप्त जानकारी गराएका थिए । खिम्दिङका अनुसार सर्वसाधरणले प्रवेश पाउने उक्त स्थलमा लगभग ६८० समाधि रहेका छन् । विश्वयुद्धमा वीरगति प्राप्त गर्नेहरुका लगायत केही समाधि चिनियाँ जनमुक्ति सेनाको व्यारेकभित्र रहेकोले हाल त्यहाँ प्रवेश निषेध रहेको छ ।

    ट्रस्टका अध्यक्ष खिम्दिङले उक्त समाधिस्थल बेलायत सरकारको वर्ल्ड ग्राभ्स कमिसन अन्तर्गत रहेको र रेखदेख तथा मर्मत सम्भार सोही निकायमार्फत हुने बताएका थिए । उनले स्थानीय चिनियाँ चाड चिङमिङलाई नेपालीकरण गर्दैै अप्रिल ५ का दिन गोर्खा सिमेट्रिज ट्रस्टले पुर्खा दिवस मनाउने गरेको जानकारी गराएका थिए ।

    पुर्खा दिवसमार्फत ट्रस्टले नयाँ पुस्तालाई हङकङमा गोर्खाली (नेपाली)को योगदान र इतिहासको बारेमा जानकारी गराउँने काम भइरहेको उनले दावी गरेका थिए । त्योसंगै नेपाली विद्यार्थीलाई शैक्षिकलगायत विभिन्न सहयोग गर्ने गरेको पनि उनले बताएका थिए ।

     

    सोही अवसरमा कन्सुल जनरल उदयबहादुर राना मगरले समाधिस्थलमा रहेका समाधिको विस्तृत जानकारी हुने सामग्रीलगायत तयार गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । उनले गोर्खाको योगदानकै कारण आज हङकङमा हजारौंको संख्यामा नेपाली रहेको बताउँदै गोर्खा समाधिस्थल गौरवपूर्ण रहेको बताएका थिए ।

    अवलोकनको क्रममा उनले समाधिमा पुष्पगुच्छा र धुप अर्पण गरेका थिए । अवलोकन कार्यक्रममा नेपालकोतर्फबाट पहिलो ओलम्पिकमा सहभागी बक्सिङ खेलाडी तथा बेलायती भूतपूर्व सैनिका क्या. नामसिं थापा मगर र याउचिममोङ जिल्ला निवर्तमान सदस्य बेनी येउङलगायतको सहभागिता रहेको थियो ।

  • कमेन्ट गर्नुहोस्