• याउमाते अग्नी पीडितलाई नेपाली सहयोग

    वाणिज्यदूत किरणकुमार गुरुङ सहयोग रकमको चेक प्रदान गर्दै । तस्बिरः एभरेष्टखबर ।
  •  

    अप्रिल ३ । ‘याउमाते अग्नी पीडित सहयोग समन्वय समिति’ले पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नोभेम्बर १५ का दिन याउमातेमा आगलागी घटना भएपछि नेपाली महावाणिज्यदूतावासको संरक्षकत्व र गैरआवासीय नेपाली संघ (एनआरएनए)को संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासंघ र नेपाल च्याम्बर अफ कमर्स सदस्य रहेको सहयोग समन्वय समिति गठन गरिएको थियो ।

    घटनाका ८ जना मृतकका आफन्तलाई प्रति व्यक्ति १० हजार २ सय ७६ र ९ घाइतेलाई प्रति व्यक्ति ५ हजार ५ सय र एक जनालाई २ हजार रकम प्रदान गरिएको छ । आर्थिक सहयोग हस्तान्तरणको लागि एनआरएनएको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि वाणिज्यदूत किरणकुमार गुरुङ रहेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि गुरुङले समुदायलाई दुःख परेको बेला प्रतिनिधिमूलक संस्था एक जुट भएकोमा खुसी व्यक्त गर्दै यसलाई परम्पराको रुपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

    कार्यक्रम सञ्चालक जनजाति महासंघका अध्यक्ष किसन राईले सरकार, धनाढ्य, र स्थानीय राजनीतिक दललगायतले आर्थिक सहयोग गरिरहेको सन्दर्भमा समुदायकोतर्फबाट सामुहिक र औपचारिक सहयोग गर्न र आवश्यकता अनुसार समन्वय गर्न समिति गठन गरिएको स्मरण गरेका थिए । कार्यक्रममा च्याम्बरका अध्यक्ष डासुराम पराजुलीको पनि उपस्थिति रहेको थियो ।

    बेथल हाइस्कूलका सहप्राध्यापक चोइ क्वोक–विङ सहयोग रकमको चेक प्रदान गर्दै । तस्बिरः एभरेष्टखबर ।

     

    कार्यक्रम र एनआरएनएकी अध्यक्ष राधिका गुरुङले सहयोग गर्ने संघसंस्था तथा व्यक्तिलाई धन्यवाद दिएकी थिइन् । उनले समुदायबाट क्षमता अनुसार भएका स–सना आर्थिक सहयोगलाई एकतृत गरेर दामासाहीले पीडित र परिवारलाई हस्तान्तरण गरिएको जानकारी गराएकी थिइन् ।

    घटनामा मृत्यु भएकी सुरक्षा कँडेलकी बुबा कूलराज कँडेलका अनुसार यस भन्दा अघि पीडितलाई अन्य समुदायका विभिन्न संघसंस्थाबाट आर्थिक सहयोग प्रदान गरिएको भए पनि नेपाली समुदायबाटै सामुहिक रुपमा गरिएको आर्थिक सहयोग यो पहिलो हो । केही संस्थाले पीडित आफ्ना सदस्य र परिवारलाई व्यक्तिगत रुपमा सहयोग गरेको पाइएको छ ।

  • कमेन्ट गर्नुहोस्