• साझा श्रृंखलाको वार्षिकोत्सवमा सम्मान र विमोचन

    ‘साझा श्रृंखला’को वार्षिक साहित्यिक मुखपत्र ‘श्रृंखला’को विमोचन गरिंदै । तस्वीरहरू: जगत गुरुङ
  •  

    हङकङ साहित्यिक साझा श्रृंखलाको ९औं वार्षिकोत्सवको अवसरमा २५ अप्रिलमा आयोजित ‘पुस्तक विमोचन तथा स्रष्टा सम्मान’ समारोहमा विभिन्न साहित्यक स्रष्टा, लेखक–पत्रकार सम्मानित भएका छन् ।

    बगैंचा रेष्टुरेण्टमा सम्पन्न समारोहमा एभरेष्ट खबरका कार्यकारी सम्पादक डम्बरकृष्ण श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली प्रवासन, नियति र रहर’लाई सम्मान गरिएको छ । त्यस्तै एभरेष्ट खबरका फोटो सम्पादक जगत अम्बु गुरूङलाई पत्रकार सम्मान र एभरेष्ट खबरका नियमित लेखक/साहित्यकार कमल पौडेल ‘नेपाली भाषा–साहित्य सेवा’मा योगदानबापत सम्मान गरियो । साहित्यकार पौडेललाई ११ सय हङकङ डलर नगद समेत प्रदान गरिएको थियो ।

    समारोहमा कवि डोम रानाको कविता कृति गोधूलिको किनारालाई ११ सय हङकङ डलर नगदसहित सम्मान गरियो भने पछिल्लो समय हङकङबाट प्रकाशित कृतिहरू हङकङभित्र (क्रान्ति सुब्बा), नसकिने बाटो (नरजित राई) र रुदिना (शिव प्रधान)लाई पनि ताम्रापत्रसहित सम्मान गरिएको थियो ।

    समारोहका प्रमुख अतिथि हङकङका नेपाली महावाणिज्यदूत उदयबहादुर राना मगर, अतिथिहरू एनआरएनए हङकङका अध्यक्ष टीका गुरूङ, नेपाली महासंघका अध्यक्ष टंक राना, साझा श्रृंखलाका संयोजक सुनिता गिरी आदिबाट सम्मान पत्र ग्रहण गर्दै एभरेष्ट खबरका कार्यकारी सम्पादक डम्बरकृष्ण श्रेष्ठ ।

    त्यस्तै मिडिया क्षेत्रमा पुर्‍याएको योदानको कदर गर्दै एचडीडी स्टुडियोका सञ्चालक देवमान लिम्बूलाई पनि सम्मान गरिएको थियो भने साझा श्रृंखलाको १०० अंकसम्म योगदान दिनुहुने पूर्व पदाधिकारीहरू तथा सहयोगीहरूलाई मायाको चिनो वितरण गरिएको थियो ।

    सम्मान पत्र ग्रहण गर्दै एभरेष्ट खबरका फोटो सम्पादक जगत गुरुङ । तस्वीर: एभरेष्ट खबर

    समारोहका प्रमुख अतिथि हङकङका नेपाली महावाणिज्यदूत उदयबहादुर राना मगर, अतिथिहरू एनआरएनए हङकङका अध्यक्ष टीका गुरूङ, नेपाली महासंघका अध्यक्ष टंक राना, साझा श्रृंखलाका संस्थापक संयोजक चन्द्र मादेन तथा संयोजक सुनिता गिरी आदिले खादा तथा ताम्रपत्र प्रदान गरेका थिए ।

    सम्मान पत्र ग्रहण गर्दै एभरेष्ट खबरका नियमित लेखक/साहित्यकार कमल पौडेल ।

    समारोहमा अतिथिहरूबाट साझा श्रृंखलाको वार्षिक साहित्यिक मुखपत्र श्रृंखलाको विमोचन गरिएको थियो । कमल पौडेल र श्रृंखलाका संरक्षक दाजु गुरुङले विमोचन भएको पुस्तक श्रृंखलाको समीक्षा गरेका थिए ।

    निवर्तमान संयोजक सुनिता गिरीका साथ नयाँ संयोजक रमण गुरुङ र सह–संयोजक गीता अधिकारी ।

    त्यसैगरी साझा श्रृंखलाको नयाँ संयोजक र सह–संयोजकमा रमण गुरुङ र गीता अधिकारी चयन भएका छन् । समारोहमा विभिन्न संघ–संस्थाका प्रमुखका साथै पूर्व संयोजकहरू चन्द्र मादेन, टोपबहादुर याख्खा, बज्रकुमार राई, लालबहादुर गुरुङ, डीबी पालुङ्वा आदिले मन्तव्य व्यक्त गरेका थिए । आधा दर्जन कवि/कवयित्रीहरूले आ–आफ्नो रचना पाठ गरेका थिए ।

  • कमेन्ट गर्नुहोस्