• नेपाली युवा अभिनित ‘ह्यान्ड रोल्ड सिगरेट’को प्रदर्शन *

    ‘प्रिमियर शो’मा फिल्मका मुख्य कलाकार र निर्देशकका साथ विपिन कर्मा (बीचमा) । तस्वीर: डम्बरकृष्ण श्रेष्ठ
  •  

    नेपाली कलाकार विपिन कर्माको पनि प्रमुख भूमिका रहेको क्यान्टोनी भाषाको फिल्म ‘ह्यान्ड रोल्ड सिगरेट’को  प्रदर्शनी शुरू भएको छ ।

    इलिमेण्ट्स प्लाजास्थित प्रिमियर सिनेमाजमा १५ जुनको साँझ सम्पन्न गाला प्रिमियरमा मिडियासामु विपिन कोटमा नेपालको झण्डाको प्रतीक चिन्हसहित प्रस्तुत भए । हलहरूमा फिल्म रिलिज हुने भएपछि उनलाई भ्याइनभ्याइ छ । चान किन लङद्वारा निर्देशित यो फिल्ममा विपिनको पनि मुख्य भूमिका रहेको छ । पहिलो फिल्ममै उनले हङकङका चर्चित कलाकार गोर्डेन लामसंग स्क्रिन शेयर गरेका छन् ।

    प्रदर्शन अगावै १७औं हङकङ एसिया फिल्म फेस्टिभलको ओपनिङ र गोल्डेन हर्स फिल्म फेस्टिभलको क्लोजिङ फिल्म रहेको यस फिल्म हङकङ, ताइवान र सिंगापुरको प्रिमियरपछि १७ जुनबाट सार्वजनिक प्रर्दशनमा आएको हो ।

    ‘प्रिमियर शो’ मा फिल्मका नायकमध्येका नेपाली युवा विपिन कर्मा । तस्वीरः जगत गुरुङ

    प्रिमियर शोमा एभरेष्ट खबरसँग कुरा गर्दै विपिनले पहिलो फिल्म प्रदर्शनको खुशी साटे । २०१९ मा नै फिल्मको लागि अफर आउँदा शुरूमा गर्न सक्दिनँ होला जस्तो लागे पनि पछि आँट आएको उनले बताए । भन्छन्, “फिल्ममा हिन्दी र चिनियाँ भाषा बोल्नुपर्ने भएकोले पनि शुरूमा गाह्रो लागेको थियो ।”

    हङकङमै जन्मेर नेपालमा आठ वर्ष बिताएका विपिन हङकङमा हाइस्कूल पढ्दै गर्दा भिडियोग्राफी र सर्ट फिल्म बनाउन आकर्षित भएका थिए । हाइस्कूलमा नन–चाइनिजहरूलाई लघुफिल्म बनाउन दिने एक क्याम्पेनमा सहभागी भएपछि फिल्मतिर आकर्षित भए पनि अभिनय नै गर्छु भन्ने उनलाई लागेको थिएन । “फिल्मको अरू विधामा संलग्न हुन्छु भन्ने थियो तर यो फिल्ममा अफर आयो । कथा पनि मन परेकोले काम गरें ।” पार्करको भिडियो इन्टरनेटमा राख्ने विपिनसँग पार्करकै केही विज्ञापनमा काम गरेको अनुभव पनि थियो । उनको पार्करप्रतिको लगाव पनि फिल्मका लागि सहायक बन्यो । उनले पार्करमा जस्तै फिल्ममा पनि सडकमा दौडने र घरको झ्यालबाट फाल हानेका छन् । विश्वविद्यालयको वार्षिकोत्सवमा आयोजना गरिएको फिल्म फेस्टिभलका लागि बनाइएको फिल्ममा गरेको अभिनय र पार्करप्रतिको लगाव देखेर निर्देशकले उनलाई प्रस्ताव गरेका थिए ।

    हङकङका चर्चित कलाकार गोर्डेन ल्यामसँग विपिनले स्क्रिन शेयर गरेका छन् । तस्वीर: इन्टरनेट

    विपिनले पाएको यो अवसर हङकङको कला क्षेत्रमा नेपालीले पाएको ठूलो सफलता हो । यसले धेरै सम्भावनाको ढोका खोलेको छ । भन्छन्, “पाएको अवसर आफ्नो तर्फबाट सक्दो गरेको छु ।”

    फिल्ममा दक्षिण एसियाली पात्र मनीको भूमिकामा उनले उम्दा अभिनय गरेका छन् । पहिलो फिल्मबाट आशावादी विपिन शुरूवात नै राम्रो भएकोले अबका दिनमा अझ मिहिनेत गरेर अघि बढ्ने बताउँछन् । प्रिमियरमा पाएको प्रतिक्रियाबाट खुशी भएका विपिन क्यान्टोनिज भाषाको आफ्नो फिल्मले नन–चाइनिज दर्शकलाई पनि तान्ने कुरामा ढुक्क छन् । भन्छन्, “हङकङमा रहेका नेपाली समुदायका सबैले हलमा गएर फिल्म हेर्नुहुनेछ भन्ने लागेको छ ।”

    *सच्चाइएको ।

  • कमेन्ट गर्नुहोस्