• यायोक्खाको ११औं अधिवेशन सम्पन्न

    नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउँने क्रममा निर्वाचन समितिका संयोजक हेजेन राई । तस्बिर: एभरेष्टखबर ।
  •  

    जुन २७ । किरात राई यायोक्खा (किराया) हङकङको ११औं अधिवेशनले चन्द्रका (माया) थुलुङ राईको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । १५ सदस्यीय कार्यसमितिको अध्यक्ष पदमा भएको निर्वाचनमा विजयी उमेदवारले ४८ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी पिताम्बर चाम्लिङ राईले २३ मत प्राप्त गरेका थिए ।

    नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः गजेन्द्र बहादुर बान्तावा राई, गंगाराम साम्पाङ राई, राजेन्द्रकुमार चाम्लिङ राई, शिवकुमार बान्तावा राई, मनिराज साम्पाङ राई र दिनेशकुमार थुलुङ राई रहेका छन् । उक्त समितिका सदस्यहरुमा पवित्रा चाम्लिङ राई, पवित्रा बान्तावा राई, रामचन्द्र कोयु राई, विष्णु बायुङ राई, बबिता साम्पाङ राई र भीमप्रसाद थुलुङ राई रहेका छन् ।

    सुप्तुलुङ खिमको यलम्बर हलमा सम्पन्न अधिवेशनको खुलासत्र नेपाली आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राईले दियो प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । उक्त समारोहमा किराया नेपालका केन्द्रीय सदस्य दिलिप राई, हङकङ तामाङ घेदुङका अध्यक्ष रमेश मोक्तान, तमु ट्हो ह्युलका अध्यक्ष विजयकुमार गुरुङ, किरात याक्खा छुम्माका अध्यक्ष पूर्ण याक्खा र सुनुवार समाजका सल्लाहकार नरेश सुनुवारले शुभकामना व्यक्त गरेका थिए ।

    तत्कालिन उपाध्यक्ष चन्द्रका (माया) थुलुङ राईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम संचालक सचिव गजेन्द्रबहादुर बान्तावा राईले सञ्चालन गरेका थिए । खुलासत्रको समापन गर्दै अध्यक्ष हरिचन्द्र साम्पाङ राईले निर्वाचन समितिको नाम घोषणा गरेका थिए । हेजेन राईको संयोजकत्व रहेको समितिमा किसन राई र बसन्तकुमारी राई सदस्य रहेका थिए ।

    निर्वाचन समितिका संयोजक हेजेन राईका अनुसार २३ वर्षे किराया हङकङको इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको हो । सन् २००२ देखि कार्यसमितिमा लगातार कार्यरत चन्द्रका (माया) थुलुङ राई अघिल्लो कार्यकालमा प्रथम उपाध्यक्ष रहेकी थिइन् ।

  • कमेन्ट गर्नुहोस्