• ढकालको अध्यक्षतामा एनआरएनए कार्यसमिति निर्विरोध

    नव निर्वाचित कार्यसमिति । तस्बिर: एभरेष्टखबर ।
  •  

    जुलाई २६ । गैर–आवासीय नेपाली संघ (एनआरएनए) हङकङको आठौं अधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । निर्वाचन समितिका अनुसार जुलाई १८ का दिन उमेदवारी दर्ता तोकिएकोमा सम्पूर्ण पदमा एक–एक मात्र उमेदवारी परेको थियो ।

    बन्दसत्रको अन्तिममा निर्वाचन समितिले गोकर्णप्रसाद ढकालको अध्यक्षतामा निर्वाचित समितिको नाम घोषणा गरेको थियो । घोषणा अनुसार उपाध्यक्षद्वय विजयकुमार गुरुङ र अनु राई, महासचिव डिल्लिराम विश्वकर्मा, सचिव ज्ञानेन्द्र थापा, कोषाध्यक्ष दिव्या थापा (गीता) र सहकोषाध्यक्ष अर्जुन गौचन रहेका छन् ।

    महिला संयोजक कविता गुरुङ र युवा संयोजक असिम राई रहेको समितिका सदस्यहरुमा श्यामकुमार श्रेष्ठ, आकाश बञ्जरा, विश्वनाथ घिसिङ, मनिष लिम्बू र सुरेश कलाल थापा रहेका छन् । अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्यमा किसन राई निर्वाचित भएका छन् ।

    हेजेन राई प्रमुख रहेको निर्वाचन समितिमा देव गुरुङ र हेम गुरुङ सदस्य रहेका थिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय अनुगमनकर्ता रहेका आईसीसी सदस्य दिलिप सिंह गुरुङले सपथ ग्रहण गराएका थिए । निवर्तमान अध्यक्ष राधिका गुरुङलगायतले बधाई तथा शुभकामना व्यक्त गरेपछि नवनिर्वाचित अध्यक्ष ढकालले प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए ।

    उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाली महावाणिज्यदूत उदयबहादुर राना मगर, आईसीसी सदस्य तथा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डासु राम पराजुली, आईसीसी सल्लाहकार त्रिलोक गुरुङ, भूतपूर्व अध्यक्षत्रय कृष्णप्रसाद पाण्डे, दुर्गा गुरुङ र ललिल आङबुहाङ, हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना र नेपाली आदिवासी जनजाति महासंघका उपाध्यक्ष कृष्णराज लाओतीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    बन्द सत्रमा प्रतिवेदनहरु पारित गर्ने क्रममा संस्थालाई च्यारिटेबलको रुपमा रुपान्तरण गर्ने निर्णय गरिएको छ । त्यसै गरी अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । जानकारी गराइए अनुसार यस पटकदेखि प्रतिनिधिको ६५ प्रतिशत कार्यसमिति र आईसीसीका भूपू पदाधिकारी र सदस्यहरुबाट अधिवेशनले चयन गर्ने छ ।

    यस भन्दा अघि कार्यसमिति चयनको लागि चार पटक लगातार चुनावी प्रक्रिया अपनाइएको थियो । पहिलो अधिवेशनमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा चेतनाथ चौलागाईँलाई पराजित गर्दै त्रिलोक गुरुङ निर्वाचित भएका थिए । दोश्रो र तेश्रो अधिवेशनमा कार्यसमिति निर्विरोध चयन भएका थिए । चौथो अधिवेशनमा अध्यक्षका प्रत्याशी मीनबहादुर गुरुङलाई दुर्गाबहादुर गुरुङले पराजित गरेका थिए ।

    पाँचौ अधिवेशनमा अध्यक्ष ललित आङबुहाङसहित सिङ्गो कार्यसमितिका लागि चुनावी प्रतिस्पर्धा भएको थियो । छैठौं अधिवेशनमा महासचिव र महिला संयोजकमा भएको निर्वाचनमा किसन राईले विनय शाहलाई र अनु राईले ईन्द्र गुरुङलाई पराजित गरेका थिए । सातौं अधिवेशनमा अध्यक्षका लागि मात्र भएको निर्वाचनमा निरञ्जन गुरुङलाई पराजित गर्दै राधिका गुरुङ निर्वाचित भएकी थिइन् ।

  • कमेन्ट गर्नुहोस्