अफ्रिकाको कान्छो अर्बपति मोहम्मद देवजी तान्जानियामा अपहरित
तान्जानियाका व्यापारी तथा सत्तारुढ चामा चा मापिन्डुजी (सीसीएम) पार्टीका पूर्व सांसदलाई पहिचान नखुलेका व्यक्तिले दार एस सलामबाट बिहिबार नियन्त्रणमा लिएको क्षेत्रीय कमिशनरले बिहीबार बताएका छन् ।
अरबौं डलरको आम्दानी गर्ने मोहम्मद ईन्टरप्राईजेज तान्जानिया लिमिटेड (एमइटिएल ग्रुप) का मालिक तथा अध्यक्ष मोहम्मद देवजी बिहानको व्यायाम सकेर देशको व्यापारिक राजधानीको एउटा विलासी होटेलमा पुगेपछि अपहरणमा परेका हुन् । देवजी अफ्रिकाकै कान्छो अर्बपति हुन् ।
दार एस सलामका क्षेत्रीय कमिशनर पल माकोन्डाले देवजी होटेल प्रवेश गर्ने क्रममा दुई पुरुषले अपहरण गरेको बताए । “उनीहरुले एउटा बन्दुक चलाए र त्यसपछि गेट खोले,” माकोन्डाले भने । सुरक्षाकर्मीहरुले देवजीको खोजी गरिरहेको उनले बताएका छन् ।
पुलिस कमान्डर लजारो माम्बोसासालाई उद्धृत गर्दै ती हतियारधारी पुरुषहरु विदेशी भएको स्वाहिली टाईम्सले ट्विटरमा उल्लेख गरेको छ । होटेलको गेटमा पहरा दिने गार्ड लगायतका प्रत्यक्षदर्शीसँग सोधपुछ भईरहेको उनले बताए ।
“मैले उनको पितासँग कुरा गरेको छु र हाम्रो मित्र मोको अपहरणको समाचार सत्य हो,” ईन्भाईरोन्मेन्ट एन्ड युनियन अफेयर्सका स्टेट मिनिष्टर जनवरी माकाम्बाले ट्विटरमा भनेका छन् । “मोहम्मदको परिवार छ र कलिला सन्तान पनि छन् । उनको उद्धारमा सहयोग पुग्ने सूचना हामीलाई दिएर सहयोग गर्नुहोस् ।”
४३ वर्षिय देवजी सीसीएमको टिकटबाट संसदमा निर्वाचित भएका थिए तर सन् २०१५ को निर्वाचनमा उनले आफ्नो सीटका लागि लडेनन् । एमइटिएल तान्जानियाकै ठूला कम्पनीहरुमध्ये एक हो । कम्पनीको वेबसाईट अनुसार देशको कुल ग्राहस्थ उत्पादनको करिब ३.५ प्रतिशत हिस्सा यसको छ । कम्पनीको साईकल र डिटर्जेन्टदेखि खाने तेल र पेय पदार्थसम्म उत्पादन गर्ने ३० भन्दा धेरै कारखानाहरु छन् । कम्पनीले कृषी, पूर्वाधार, उर्जा र मोबाईल फोनको क्षेत्रमा पनि लगानी गरेको छ ।
कम्पनी ११ वटा अफ्रिकी देशमा काम गर्दछ । तीमध्ये अधिकांश इस्ट अफ्रिकामा पर्दछन् । देवजीले सन् २०१५ मा कम्पनीले २ अर्ब अमेरिकी डलर आम्दानी गरेको र २४ हजारलाई रोजगार दिएको बताएका थिए ।
फोर्ब्सको अर्बपति सूची अनुसार उनको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलर बराबर छ ।
रोयटर्स/ ब्लुमबर्गबाट थप रिपोर्टिङ