‘संसदीय व्यवस्थाले नेपालको विकास हुन्न’
एभरेष्टखबर
October 31, 2018
नयाँ शक्ति पार्टी नेपालका नेता मदन राई । तस्बिरः एभरेष्ट ।
२५ अक्टुबर । नयाँ शक्ति पार्टीका नेता मदन राईले संसदीय व्यवस्थाले नेपालको विकास नहुने जिकिर गरेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली समाज हङकङको आयोजनामा सम्पन्न ‘नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीको भूमिका’ विषयक अन्तरक्रियामा उनले भने, ‘नेपालजस्तो बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक भएको देशमा संसदीय व्यवस्था काम लाग्दैन र विकास हुदैन ।’
उनका अनुसार हरेक निकायमा पूर्ण लोकतन्त्र आवश्यक छ । स्थानीय निकायमा जस्तै प्रदेश र सङ्घीय निकाय प्रमुख प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुन पर्नेमा उनले जोड दिएका छन् ।
यसै सन्दर्भमा उनले पदाधिकारी र सदस्यहरु मनोनित गर्ने नेपाली कांग्रेस पार्टी स्वयंमा लोकतन्त्र नभएको र नेपाल कम्युनिष्ट पार्टी पनि निर्वाचित कार्यकारी प्रमुखको विपक्षमा रहेकोले लोकतान्त्रिक नभएको आरोप लगाएका छन् ।
पार्टी सदस्यतामा विविधता र जिम्मेवारीका लागि पुरानो सदस्य हुनु पर्ने परिपाटी सामन्ती प्रथाको निरन्तरता भएको ठहर गर्दै उनले सदस्यता एकै प्रकारको र क्षमताको आधारमा जिम्मेवारी पाउनु उचित हुने बताएका थिए ।
प्रवासी नेपालीलाई मताधिकारको पक्षमा बहस गरेका उनले निर्वाचनको लागि रकम अभाव नहुने भन्दै हरेक प्रवासी मतदातालाई शुल्क तोक्न सकिने सुझाएका थिए। उनका अनुसार संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता अनुसार संशोधन हुनु पर्छ ।

प्रवास आउनु भनेको आर्थिक समृद्धिको लागि हो भन्दै उनले समृद्ध भइसकेकाहरुलाई मुलुक फर्कन आह्वान गरेका थिए । उनले शासनमा प्रत्यक्ष सम्बन्ध हुने भएकोले हरेक व्यक्तिले राजनीतिमा चासो राख्न आवश्यक हुने विचार व्यक्त गरेका थिए ।
उनले हरेक व्यक्तिको फरक–फरक पहिचान हुने बताउदै सबैको पहिचान अक्षुण्ण राख्न आवश्यक रहेको बताएका थिए । विविधताको कारण नेपाली पहिचानमा अनेकता रहेको यथार्थलाई आत्मसात् गर्दै समावेशिता अपनाउन उचित हुने उनको ठम्याई थियो ।
योद्धाको काम भत्काउने भएकोले निर्माणमा कर्मीको आवश्यक पर्ने भन्दै उनले राणा, पञ्चायत र राजा फाल्नु भनेको भत्काउनु थियो र त्यो कांग्रेस र कम्युनिष्टले पूरा गरेको बताएका थिए । पुराना पार्टी योद्धा रहेको र उनीहरुबाट निर्माण हुन नसक्ने भएकोले नयाँ पार्टि आवश्यक रहेको उनको दावी थियो ।
अन्तमा उनले नयाँ शक्ति पार्टिको पाँच ‘स’ समृद्धि, स्वाधिन, समावेशी, सुशासन र समाजवादको मन्त्र सुनाएका थिए । नयाँपेजको कार्यालयमा आयोजित कार्यक्रम समाजका अभियन्ता मनोज गौतमले सञ्चालन र श्याम इङनामले समापन गरेका थिए ।
कमेन्ट गर्नुहोस्














