• त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कालोपत्र फेरिँदै

    तस्बीर सौजन्य : https://pxhere.com/en/photo/1450519 @magar sandy
  • काठमाडौं, फागुन १३ : बर्सातको समय सुरू भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सधैं एउटै चिन्ताले सताउँथ्यो, मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा कुनै समस्या पो आइहाल्छ कि ? मनसुनको समयमा पानी पर्दा विमानस्थलको धावनमार्गको कालोपत्र उप्कने, धाँजा फाट्ने र जहाज उडान तथा अवतरणमा समस्या आउने कारण सबै भुक्तभोगी थिए ।

    धावनमार्गमा समस्या आयो भने नेपाल आइरहेका जहाजलाई कता ‘डाइभर्ट गर्ने’ र आन्तरिक उडानका जहाजलाई कता अवतरण गराउने भन्ने चिन्तामा हुन्थे विमानस्थलका कर्मचारी ।  धावनमार्ग मर्मतका लागि विमानस्थल कार्यालयले ‘द्रुत मर्मतकर्ता टोली तयारी अवस्थामा राखे पनि समस्या परी नै रहन्थ्यो । अब भने एक मात्र विमानस्थलले उक्त समस्याबाट मुक्ति पाउने भएको छ ।

    सरकारले आगामी चैत १८ गतेदेखि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्णरूपमा मर्मत गर्ने भएको छ । विगत चार दशकदेखि सामान्य मर्मत गरेर सञ्चालनमा ल्याई राखिएको विमानस्थलको धावनमार्गको कालोपत्र पूर्णरुपमा फेरेर नयाँ राख्न खोजिएको हो ।

    धावनमार्गको कालोपत्र सामान्य रूपमा उप्कदासमेत हवाइजहाज उडान तथा अवतरणमा समस्या हुँदै आएको थियो । मुलुकको प्रतिष्ठासँग जोडिएको विमानस्थललाई समस्यारहित बनाउने लक्ष्यका साथ सरकारले पूर्णरूपमा मर्मत गर्न लागेको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने, “नयाँ कालोपत्र गरी विमानस्थललाई दुरूस्त बनाउने उद्देश्यका साथ काम सुरू भएको छ ।” मन्त्री अधिकारीसहितको टोलीले आज कालोपत्रका लागि भइरहेको प्रगतिका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिएको थियो ।

    विमानस्थलको कालोपत्रलाई फेरेर नयाँ कालोपत्र राख्ने तयारी गरिएको छ । सो कार्यका लागि चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङलाई ठेक्का दिइएको छ । करिब ७० प्रतिशतभन्दा बढी निर्माण सामग्री जम्मा भएपछि नयाँ कालोपत्रको काम सुरू हुनेछ । चिनियाँ कम्पनीले चार अर्ब २७ करोड रूपैयाँ लागतमा विमानस्थलको धावनमार्ग मर्मतको जिम्मा पाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको कार्यतालिकाअनुसार आगामी चैत १८ गतेदेखि धावनमार्गको स्तरोन्नतीका लागि नयाँ कालोपत्रको काम सुरू हुँदैछ । सो कार्य आगामी जेठमा सम्पन्न हुनेछ । गौचरण विमानस्थलको नामबाट विसं २००६ देखि नागरिक उड्डयन सेवा सुरू गरिएको हो । विसं २०१२ मा तत्कालीन राजा महेन्द्रले पिता त्रिभुवनको नामबाट विमानस्थलको नाम राख्न लगाएको बताइन्छ । विमानस्थल गत जेठ ७ गतेदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको हो ।

    ठेकेदार कम्पनीले करिब ९० दिनभित्र पूर्णरूपमा नयाँ कालोपत्र गरिसक्ने जनाएको छ । विमानस्थल मर्मतको काम असाध्यै जोखिमपूर्ण काम भएकाले दैनिक दश घण्टा मात्रै सञ्चालनमा ल्याइनेछ । दश घण्टा विमानस्थल बन्द गरेर मर्मत गरिनेछ । विशेषगरी रातको समयमा धावनमार्ग भत्काएर मर्मत गर्ने र विमान उडानका लागि योग्य बनाइनेछ ।

    मन्त्री अधिकारीले भने, “विमानस्थल र जहाजको समेत सुरक्षालाई ध्यानमा राखेर काम गर्ने गरी कार्ययोजना बनाइएको छ ।” धावनमार्गसँगै ट्याक्सी पार्किङस्थल र जहाज पार्किङस्थलको समेत मर्मत गरिनेछ । विशेषगरी कोटेश्वरतर्फको धावनमार्गमा बढी मात्रामा कालोपत्र उप्कने समस्या रहेको छ । जानकारका अनुसार विशेषगरी जहाज अवतरण हुने मुख्य विन्दु कोटेश्वरतर्फको धावनमार्गमा बढी समस्या देखिएको छ । सोही स्थानमा पहिले मर्मत गर्ने योजना बनाइएको छ ।

    विमानस्थलमा हाल दैनिक सयभन्दा बढी अन्तर्राष्ट्रियसहित सरदर चार सय उडान हुने गरेको छ । विमानस्थलमा समस्या आउँदा लामो समय जहाज आकाशमा ‘होल्ड’ गर्नुपर्ने र इन्धनको नाश तथा यात्रुले समेत तनाव भोग्न परेको छ ।

  • कमेन्ट गर्नुहोस्