• महासंघको झ्याल तोडफोड

  • जुलाई ४ । जोर्डनस्थित सिभिक कमर्सियल बिल्डिङमा चोरी गर्नेले हङकङ नेपाली महासंघको कार्यालयको झ्याल तोडफोड गरेको छ । घटना आज राति घटेको हो ।

    पहिलो तलाको कोठा नं. ‘एफ’मा रहेको सेलुनबाट ३ हजार चोरी भएको छ । याउमाते प्रहरीका हो काइका अनुसार चोर कोठा नं. ‘एफ’ र ‘ए’का झयालबाट भित्र पसेको देखिन्छ । कोठा ‘ए’मा सिद्ध राइज ग्रोथ लिमिटेडको कार्यालय रहेको छ ।

    सिद्ध राइजका निर्देशक गम्मर श्रीसले चोर पसे पनि कम्पनीबाट केही नहराएको बताए । उनका अनुसार दराज खोलेर कागजपत्र छरछार पारे पनि बाहिर रहेका कम्प्युटरलगायतका सामग्री केही गरिएको छैन ।

    कोठा ‘बी’ र ‘सी’मा कुनै क्षति नपुर्याए पनि ‘डी’ र ‘ई’मा रहेको महासंघको झयालको सिसा फुटाइएको छ । सिसा फुटाउन प्रयोग गरिएको इँटा भित्र रहेको कुर्सीमा उछिट्टिएको छ । उक्त कोठामा चोर प्रवेश गरेको छैन ।

    भवन मरमरतका लागि ब्याम्बो स्काफफोल्ड लगाइएकोले चोर त्यहीँबाट प्रवेश गरेको देखिन्छ । घटना भएका कोठाका ढोकाहरुमा कुनै क्षति देखिएको छैन ।

    महासंघकी भूपू अध्यक्ष रिता गुरुङका अनुसार कर्मचारी गौरी गुरुङ बिहान नौ बजे कार्यालय प्रवेश गरेपछि घटना थाहा पाइएको हो । प्रहरी बोलाइए पछि अन्य कोठाको स्थिति ज्ञात भएको हो ।

    ‘महासंघको बहिनीहरुले खबर गरेपछि मात्र घटनाको बारेमा थाहा भयो’ सिद्ध राइजका श्रीसले भने, ‘चोरको उद्देश्य नगद प्राप्ति नै रहेको देखियो ।’

    रिता गुरुङको दावी भने अपराधीको लक्ष्य महासंघ नै रहेको छ । महासंघप्रति विमत्ति राख्नेहरुले तर्साउनका लागि उक्त हरकत गरेको र त्यही क्रममा अरु कोठामा पनि आक्रमण भएको उनको अनुमान रहेको छ ।

    प्रहरीले प्रमाण संकलन गरी अपराधीको खोजी शुरु गरेको छ । यो समाचार तयार हुँदासम्म कोही पक्राउ परेको छैन ।

    तस्बिर: विक्रम गुरुङ ।

  • कमेन्ट गर्नुहोस्