• हङकङको आन्दोलनमा दुई नेपाली पक्राउ

  • अक्टुबर २ । सुपुर्दगी विधेयक विरुद्ध शुरु भएको आन्दोलनको १ सय १४ औं दिन दुई नेपाली विद्यार्थी पक्राउ परेका छन् । हिजो साँझ याउचिममोङ जिल्लाबाट पक्राउ परेका दुई युवतीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    पछाडि हात बाँधिएका दुईमध्ये एकको अनुहार छोपिएको छ । अनुहार नछोपिएको युवती रोइरहेको जस्तो देखिएको छ । अनुहार नछोपिएको युवती जेनी राई र अर्की रोजमेरी लिम्बू हुन् । उनीहरु दुवैजना युनिभर्सिटिका विद्यार्थी हुन् ।

    ‘मुख छोपेको चाहिँ मेरो छोरी हो’, रोजमेरी लिम्बूका बाबुले भने, ‘भर्खरैदेखि जुलुसमा हिड्न थालेको थियो पक्राउ परेछ । लोकल स्टुडेण्टलाई सहयोग गरेको भन्थ्यो, अरु कुरा बुझेको छैन ।’

    उनका अनुसार एकै ठाउँ र एकै समयमा पक्राउ परेका दुईलाई फरक ठाउँमा राखिएको छ । चुनवान बसोबास गर्ने रोजमेरीलाई चेङसावानमा राखिएको छ भने लामतिन बस्ने जेनीलाई हुङहाममा राखिएको छ ।

    उनका अनुसार २४ घण्टा भइसक्दा पनि परिवारलाई भेट्न दिएको छैन । सोसियल वर्कर्सको फोन आउने र तिनिहरुले कानुनी उपचारको क्रममा भएकोले चिन्ता नगर्न भनेको उनले बताए ।

    शैक्षिक अभियन्ता अमोद राईका अनुसार पक्राउ परेका दुई विद्यार्थीहरु राम्ररी नबुझी आन्दोलनमा लागेका रहेछन् । ती दुईका साथीहरुले भने अनुसार चीनको कम्युनिष्ट पार्टीले हङकङ टेकओभर गर्न लागेको र त्यसो भए यहाँ डेमोक्रेसी र फन्डामेन्टल राइट्स खोसिने भएकोले आन्दोलनमा लागेको हो ।

    ‘विद्यार्थीहरुमा भ्रम रहेछ, हङकङले हामीलाई बस्न दिएको छ त्यसकारण स्थानीय आन्दोलनकारीलाई सघाउनु पर्छ भन्ने सोच देखियो’, अमोद राईले भने, ‘यो भनेको यहाँको शैक्षिक नीतिको कमजोरी हो । मेन स्ट्रिम र इथ्निक माइनोरिटिज विद्यार्थीहरुलाई उनीहरुको मूल्य, मान्यता र इतिहासको बारेमा राम्रो ज्ञान दिन नसक्दा यो समस्या आइरहेको छ ।’

    हिजो चुनवानमा प्रहरीको गोली लागेर घाइते भएका १८ वर्षीय कलेजका विद्यार्थी चान चि–केको क्वीन एलिजावेथ हस्पिटलमा सल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ । चिकित्सकहरुका अनुसार फोक्सोमा रहेको गोली निकालिएको उनी खतरा बाहिर रहेका छन् ।

    तस्बिर श्रोत: सामाजिक सञ्जाल ।

  • कमेन्ट गर्नुहोस्