हाम्रा सम्पादकलाई सरकारी सम्मान
२ अक्टुबर । हाम्रा सम्पादक किसन राईलाई सरकारी सम्मान प्राप्त भएको छ । चीनको ७१औं स्थापना दिवसको अवसरमा हिजो प्रकाशित *राजपत्र अनुसार उनलाई ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटि सर्भिस’ प्रदान गरिएको छ ।
यस वर्ष उक्त सम्मान सम्पादक राईलगायत १९५ जनालाई प्रदान गरिएको छ । उक्त सम्मान प्राप्त गर्ने उनी १४औं नेपाली हुन् । यस भन्दा अघि सम्मानित हुनेहरु अधिकांश डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एण्ड प्रोग्रेस अफ हङकङ–डीएबी पार्टीका सदस्यहरु रहेका छन् ।
कोभिड–१९ नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेकाहरुको उच्च मूल्याङ्कनका कारण यस वर्ष इतिहासमै सर्वाधिक (६८७) सम्मान प्रदान गरिएको छ । ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर गभर्नमेन्ट/पब्लिक सर्भिस’ २५३ जनालाई प्रदान गरिएको छ । सबै भन्दा उच्च सम्मान ‘ग्राण्ड बौहिनिया मेडल’ ४ जनालाई प्रदान गरिएको छ । गोल्ड बौहिनिया स्टार –१५, सिल्भर बौहिनिया स्टार –२२ र ब्रोन्ज बौहिनिया स्टार –४० रहेका छन् । गोल्ड मेडल अफ ब्रेभरी –४, सिल्भर मेडल अफ ब्रेभरी –७, ब्रोन्ज मेडल अफ ब्रेभरी –८, डिस्टिङगुइस्ड सर्भिस मेडल –१४, मेरिटोरियस सर्भिस मेडल –४७, मेडल अफ अनर –७८ रहेका छन् ।
‘सम्मानले योगदानको मूल्याङ्कन भएको अनुभव गरेको छु’ २० वर्षदेखि लगातार एभरेष्ट मिडियाका सम्पादक तथा प्रकाशक रहेका राईले भने, ‘तर विगतका कतिपय सम्मानितहरुको नैतिकता र चरित्रलाई हेरेर सम्मान बहिष्कार गर्ने सोचसमेत आएको थियो ।’
उनका अनुसार निकटकाहरुले मानको अपमान नगर्न सुझाव दिएपछि सम्मान स्वीकार गरिएको हो । कतिपय सम्मानितहरुको समुदायमा योगदान नदेखिएको र कतिपय विवादास्पद रहेको सन्दर्भमा सम्मानको आलोचना हुने गरेको छ ।
किसन राई नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार संघ, हङकङ नेपाली फाउण्डेसन र नेपाली भाषा तथा साहित्य परिषद्का अध्यक्ष रहेका छन् । गैर–आवासीय नेपाली संघका उपाध्यक्ष रहेका उनी किरात राई यायोक्खा, धरान हङकङ मञ्च र नेपाली समाजका सल्लाहकार रहेका छन् ।
१४ वर्षदेखि चलिरहेको आदिवासी जनजाति मूलको नेपाली महावाणिज्यदूत मागसहितको आन्दोलन उनकै नेतृत्वमा रहेको कार्यसमितिले कुशलताका साथ सम्पन्न गरेको छ । माग पूरा गराउँन यस पटक महासंघले अपनाएको कूटनैतिक पहल सफल बनेको छ । भर्खरै नेपाल सरकारले उदयबहादुर रानामगरलाई हङकङका लागि महावाणिज्यदूत नियुक्त गरेको छ ।
*सच्चाइएको । -सम्पादक ।