• विक्रम गुरुङको ‘संगीत यात्रा’

  • अगष्ट ४ । संगीतकर्मी विक्रम गुरुङको एकल सांगीतिक कार्यक्रम ‘मेरो संगीत यात्रा’ सेप्टेम्बर १६ को साँझ हेनरी जी ल्योङ याउमाते कम्युनिटि सेन्टरमा हुने भएको छ ।

    चुम्लुङ हिममा आयोजित जानकारी सभामा आयोजक भेटरन ग्रुपका अर्जुन गुरुङले उक्त जानकारी गराएका हुन् । ग्रुपको परिचयसहित स्वागत मन्तव्य व्यक्त गरेका गुरुङले पहिलो कार्यक्रमको रुपमा विक्रम गुरुङको ‘मेरो संगीत यात्रा’ हुन गइरहेको बताएका थिए । उनका अनुसार ‘भेटरन ग्रुप’ हङकङमा रहेका पोखराका समकालिन साथीहरुको अनौपचारिक एक समूह हो । उक्त समूहले बेलाबेलामा सामाजिक काम गर्ने गरेको छ ।

    जानकारी सभामा संगीतकर्मी विक्रम गुरुङले पुराना दिनहरुको सम्झना गर्दै आफ्नो संगीत यात्रा बारे संक्षिप्तमा जानकारी गराएका थिए । जानकारी अनुसार पोखरेली युवा सांस्कृतिक समूहबाट उनको सांगीतिक यात्रा शुरु भएको हो । उनकै गीत ‘कतै टाढा तिमीबाट पुगे भने’ अरुण थापाले रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी गीत प्रतियोगितामा गाएका थिए । थापाको संगीत र स्वर रहेको गीतले पुरस्कार नजिते पनि रेकर्ड हुने अवसर प्राप्त ग¥यो, जुन उनको लागि पहिलो थियो ।

    बेलायतकालिन हङकङमा विक्रम गुरुङ शिक्षकका रुपमा आएका हुन् । उनले तत्कालिन गोर्खा हाइस्कूलमा अंग्रेजी अध्यापनको साथै संगीतको प्रशिक्षण पनि दिनुपथ्र्यो । त्यहाँ उनले बढी बाल गीतको रचना र संगीत गरेको बताएका थिए । उनले अध्ययनको क्रममा काठमाडौं बस्दा र जागिरको सिलसिलामा ब्रुनाइ जादा पनि संगीतलाई निरन्तरता दिएको जानकारी गराएका थिए ।

    ‘मेरो संगीत यात्रा’मा पनि उनले पोखराबाट शुरु गरेर काठमाडौं, हङकङ, बु्रनाइमा निरन्तरता दिएको कामको सिलसिला रहने जानकारी गराएका थिए । उनले ८ बजे भनिएको कार्यक्रम तोकिएकै समयमा शुरु हुने भएकोले समयमा आइदिन दर्शकलाई अनुरोध गरेका थिए ।


    भेटरन ग्रुपले दुई वर्ष अघिदेखि कार्यक्रमको लागि भनेको भए पनि समयाभावका कारण गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै उनले भर्खरै अवकास भएकोले तयारीमा लाग्न संभव भएको बताएका थिए । कार्यक्रममा सरुभक्तको पनि उपस्थिति रहने र उनले विक्रम गुरुङको परिचय गराउने पनि जानकारी गराइएको थियो ।

    आँखाको नीद खोसी लाने, भुलु भुलु लाग्यो मलाई जस्ता कालजयी लगायत विक्रम गुरुङका रचनाहरुको प्रस्तुति रहने कार्यक्रममा चिनियाँ भायोलिन वाद्यक समूह र स्थानीय नेपाली संगीतकर्मीहरुको साथ रहने छ ।

    रक्ष गुरुङको सञ्चालन रहेको जानकारी सभामा भेटरन ग्रुपका प्रवक्ता भीम गुरुङलगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा उपस्थित विभिन्न व्यक्तित्वहरुबाट कार्यक्रमको पोस्टर सार्वजनिक गरिएको थियो । तस्बिरः ज्याप स्टुडियो ।

  • कमेन्ट गर्नुहोस्