• बर्खास्त श्रेष्ठले पुनर्वहालीको माग गरे

    हङकङको प्रतिनिधित्व गर्दै भेषमणी श्रेष्ठ (बीच) म्यान्मारमा । तस्बिर श्रोत फेसबुक ।
  •  

    ११ जुलाई । पञ्जीकृत सदस्यताबाट समेत बर्खास्त गरिएका गैर–आवासीय नेपाली संघ (एनआरएनए) हङकङका कार्यसमिति सदस्य भेषमणी श्रेष्ठले पुनर्वहालीको माग गर्दै अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)का महासचिवसमक्ष निवेदन पेश गरेका छन् ।

    उनले निवेदनमा राष्ट्रिय समन्वय समिति (एनसीसी)का अध्यक्ष, महासचिव र प्रवक्ताले मनोमानी गरेको दावी गर्दै कारवाही गर्नसमेत माग गरेका छन् । उनको निवेदनमा आउने चुनाव (अधिवेशन) स्थगन गर्न पनि माग गरिएको छ । त्यसैगरी उनले हङकङको कार्यसमिति विघटन गर्न समेत अनुरोध गरेका छन् ।

    बर्खास्त गरिएका श्रेष्ठले आफू नेपाली मूलका विदेशी रहेको र अभियन्ताको रुपमा म्यान्मारको कार्यक्रममा गएको उल्लेख गरेका छन् । उनले चुनावमा अनिवार्य सहभागिताको सुनिश्चितासमेत खोजेका छन् ।

     

    श्रेष्ठको निवेदनको कुनै तुक नभएको प्रवक्ता इन्द्र वनेमले प्रतिक्रिया दिएका छन् । उनका अनुसार भेषमणी श्रेष्ठलाई बर्खास्त गरिएको पञ्जिकृत सदस्यता दिने निकाय नै एनसीसी भएकोले आईसीसीमा निवेदन पेश गर्नु भनेको खुट्टामा चोट लाग्दा टाउकोमा औषधी गरेजस्तो भो ।

    संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले कार्यसमितिले गरेको निर्णयको अवहेलना गर्नेलाई कार्वाही गर्नुको विकल्प नरहेको बताएका छन् । उनले पनि यस विषयको शिकायत गर्ने ठाउँ एनसीसी हङकङ नै रहेको ठहर गरेका छन् ।

    म्यान्मारमा भर्खरै सम्पन्न सातौं एशिया प्रशान्त क्षेत्रीय बैठक विधान विपरित रहेकाे ठहर गर्दै हङकङले उपस्थित हुन असमर्थता जनाएकाे  थियो । श्रेष्ठले हङकङको प्रतिनिधित्व गर्दै उक्त कार्यक्रममा गतिविधि गरेपछि एनआरएनले उनको सदस्यता खारेज गरेकाे  थियाे ।

     एनआरएनए कार्यसमितिका श्रेष्ठ बर्खास्त

    आईसीसी सदस्य मीनबहादुर गुरुङको अनुभवमा पनि एनसीसीको समस्या आईसीसीले समाधान गर्न नसक्ने रहेको छ । उनले भने, “चीनको समस्या आईसीसीले एक वर्ष भन्दा बढीमा पनि समाधान गर्न नसकेको हामीले देखेका छौं । अन्तमा एनसीसी आफैले समाधान गरेको हो ।”

    चीनको राष्ट्रिय सम्मेलनमा भएको विवाद आईसीसीले धेरै प्रयास गर्दा पनि समाधान नभएपछि एनसीसी आफैले गरेको थियो । एनआरएनए हङकङ स्थानीय ऐन अनुसार दर्ता भएकोले पनि यहाँको समस्या एनसीसीलाई समाधान गर्न लगाउनुको विकल्प आईसीसीसंग रहेको छैन ।

    अध्यक्ष राधिका गुरुङका अनुसार पुनर्वहाली होइन अब भेषमणी श्रेष्ठले नयाँ सदस्यताको आवेदन दिन पर्नेछ । उनको निवेदन प्राप्त भएपछि कार्यसमितिले निर्णय गरेर सदस्यता दिन सक्नेछ । त्यसका लागि केही समय पर्खनुको विकल्प उनीसंग छैन ।

  • कमेन्ट गर्नुहोस्