• ‘खुशी मान्छेहरूको शहर, समृद्ध शहर’

  •  

    गायिका विष्णु चेम्जोङ सांगीतिक कार्यक्रमका लागि पटक–पटक हङकङ आइपुगेकी छन् । नेपालमा गायन रियालिटी शो भर्खर–भर्खर शुरु भएको थियो । त्यसैमध्येको एउटा रियालिटी शो थियो, ‘नेपाल स्टार’ । सन् २००६ मा पहिलो पटक आयोजना भएको ‘नेपाल स्टार’को विजेता बनेपछि नेपाली सांगीतिक क्षेत्रमा विष्णुको चर्चा चुलियो । उनी कार्यक्रममा व्यस्त भइन् ।

    ‘नेपाल स्टार’ जितेको केही समयपछि विष्णु सांगीतिक कार्यक्रमका लागि हङकङ आइपुगेकी थिइन् । उनलाई पहिलो पटक धरान–हङकङ मञ्चले निम्त्याएको थियो । यो उनको पहिलो विदेश यात्रा पनि थियो । त्यसैले अहिले सम्झिंदा उनलाई त्यो यात्रा भुलभुलैया जस्तो लाग्छ । उनी भन्छिन्, “पहिलो पटक भएर होला त्यसवेलाका कतिपय कुरा बिर्सिएँ । भुलभुलैया जस्तो भएको छ ।”

    तैपनि त्यसवेलाका कतिपय कुरा भने उनको दिमागमा ताजै छन् । विष्णुका आफन्त र चिनेजानेकाहरू हङकङमा प्रशस्तै थिए । उनीहरूबाट हङकङबारे पहिल्यै सुनिसकेकै थिइन् । त्यसमाथि हङकङ आउने भएपछि उनले कहाँ के छ ? भनेर राम्ररी अध्ययन गरिन् । त्यसैले पनि उनको दिमागमा हङकङबारे पहिल्यै एउटा चित्र बनिसकेको थियो । जुन यहाँ आउँदा मेल खायो । “फोटोमा हेरेको र आफन्तले भनेका आधारमा जस्तो कल्पना गरेको थिएँ त्यस्तै रहेछ,” उनी भन्छिन्, “कल्पनाअनुसारकै रमाइलो लाग्यो ।”
    विष्णु आएको समयमा यहाँ धेरै कार्यक्रम हुन्थे । एउटा कलाकार हङकङ आउँदै गर्दा अर्को फर्किरहेको हुन्थ्यो । उनलाई कलाकारहरूको हङकङ यात्रा पनि गज्जब लाग्यो । भन्छिन्, “बरू नेपालमा हुँदा भेट नहुने कलाकारहरू हङकङमा भेटिन्थ्यो । कलाकारको व्यस्तता गज्जब लाग्थ्यो ।”

    उनी पहिलो पटक हङकङ आएका वेला कार्यक्रममा धेरै चिनेका मान्छे देखिन् । एकैपटक धेरै मान्छेहरुसँग बोलचाल हुँदा उनलाई त नेपालमै छु कि जस्तो लाग्यो रे । त्यसवेला उनले सुक्मित गुरुङका ‘पलपल’, ‘रेलिमाई’ र नलिना चित्रकारका गीतहरू गाएकी थिइन् । धेरै ठाउँमा घुमघाम पनि गरिन् । बिग बुद्ध, ओसियन पार्कलगायत प्रायः घुमिने धेरै ठाउँ घुमेकी उनलाई आफन्तहरूको निम्तो मान्न भ्याइनभ्याइ भयो ।

    समृद्ध शहर हङकङ

    हालसम्म विष्णु तीन/चार पटक हङकङ आइसकेकी छन् । बेलायत, कोरियालगायत विश्वका अन्य देश पनि घुमेकी उनलाई हङकङ सबैभन्दा समृद्ध शहर लाग्छ । हङकङ खुशी मान्छेहरूको शहर जस्तो पनि लाग्छ उनलाई । भन्छिन्, “युकेतिर जाँदा दुःखी टाइपको, स्लो टाइपको लाग्ने, कोरिया सुनसान लाग्ने । तर, हङकङ झकिझकाउ, झललल बलेको लाग्ने । मुभी हेर्दा फास्ट फरवार्ड गरिन्छ नि, त्यस्तै छिटो–छिटो दौडिरहेको शहर जस्तो लाग्छ हङकङ ।”

    विष्णु गायनसँगै अभिनयमा पनि सक्रिय छिन् । उनले ‘चेसुङ’देखि ‘एउटा यस्तो प्रेम कहानी’सम्म पाँचवटा फिल्ममा काम गरिसकिन् । उनी नयाँ फिल्मको समेत तयारीमा छिन् । त्यसबाहेक धेरै भिडियोहरूमा आफैं अभिनय गरेकी विष्णु मिस नेपालमा समेत सहभागी बनेर ‘मिस ट्यालेन्ट’ टाइटल जितेकी थिइन् । तर उनले गायिकाका रूपमा मात्र हङकङ वा अन्यत्र भ्रमण गरेकी छन् ।

    उनको स्वरमा हालसम्म सयभन्दा बढी गीत रेकर्डिङ भएका छन् । विष्णु पछिल्लो पटक पाँच/छ वर्षअघि हङकङ आएकी थिइन् । किरात याक्थुङ चुम्लुङ, हङकङको निमन्त्रणामा आएकी उनी सांगीतिक कार्यक्रमपछि घुमघाम गरेर फर्किइन् ।

    भुल्न नसक्ने माया

    नेपालमा रहँदा पनि विष्णु हङकङ यात्रामा बिताएका केही क्षणहरू सम्झिरहन्छिन् । उनले सबैभन्दा बढी सम्झने कुरा हो, हङकङेली माया । विष्णु भन्छिन्, “मैले सबैभन्दा सम्झिरहने कुरा यता फर्के पनि आफ्नै मान्छे, उता फर्के पनि आफ्नै मान्छे । अनि, उहाँहरूले घुमाउन लगेका क्षणहरू । मलाई घुमाउन पालै नपाउने अवस्था सम्झिंदा पनि रमाइलो लाग्छ ।”

    आफन्तहरूको माया र घुमघामका लागि भिसा थपेर बस्दा पनि समय नपुगेको सम्झनाले रोमाञ्चित बनाउँछ उनलाई । हङकङको नेपाली समुदायले आफूजस्तै कलाकारहरूलाई गरेको माया देख्दा विष्णु भावुक हुन्छिन् । नेपालीहरूको त्यस्तो माया अन्यत्र पाएको भन्दा बिलकुल फरक लाग्छ उनलाई । भन्छिन्, “हङकङमा हामी कलाकारलाई कति धेरै माया गर्नुहुन्छ भने त्यहाँ भेटिने सबै आफन्त जस्तै लाग्छन् । अन्य देशमा टाढा–टाढा हुने भएर पनि होला यति रमाइलो लाग्दैन तर हङकङमा सबैजना भेट हुँदा नेपाल बिर्सिइन्छ ।”

  • कमेन्ट गर्नुहोस्