• हङकङको सुन्दरतामा नेपाली सांगीतिक क्यानभास

  •  

    संगीतको माधुयर्तामा नहराउने सायदै होलान् । सुख, दुःख, हाँसो र आँशुको समिश्रणमा एक सारथी बनिदिन्छ संगीत । ठूला–ठूला परिवर्तनहरुमा संगीत उत्साह र उमंग भर्ने तागत बनिदिन्छ ।

    पछिल्लो समय संगीतको परिभाषा र दायरा फराकिलो बन्दै गइरहेको छ । संसारका फरक–फरक भाषा र संस्कृतिमा तयार भएका संगीत हरेक मानव मनले गुनगुनाइरहेका हुन्छन् । अब संगीत सुन्ने मात्र होइन, यसलाई हेरेर महशुस गर्ने माध्यमको रुपमा विकसित भइसकेको छ ।

    हरेक गीतको भिडियोले त्यसको मर्म र संगीतको भाषालाई प्रष्ट्याउन खोजिरहेको हुन्छ । गीतको भावलाई मर्न नदिनका लागि लाखौं रुपैयाँमा भिडियो बनाउने प्रचलन अहिले आवश्यक बनिसकेको छ ।

    बजारमा एउटा राम्रो गीत बाहिर आयो भने, स्रोता तथा दर्शकहरुको चासो हुन्छ त्यसको भिडियोप्रति । कति संगीत भिडियोकै कारण दर्शक, स्रोताहरुको प्रिय बनेका छन् । गायक, संगीतकार र रचनाकारको फिललाई पात्रहरुको माध्यमले जीवन्त बनाउनका लागि पनि गीतको भिडियो अनिवार्य नै छ ।

    समयक्रमसँगै मानिसहरुमा विकास भएको आधुनिकताले पनि भिडियोको आवश्यकतालाई अझ मजबुत बनाएको हुनुपर्छ । हात–हातमा स्मार्टफोन, इन्टरनेटको पहुँचको कारण पनि सुन्ने भन्दा हेर्ने सामग्री बढी लोभलाग्दो र प्रचारित बन्दै गइरहेको छ ।

    म्युजिक भिडियोलाई करियर बनाउँदै ठूलो पर्दामा आफूलाई स्टारको रुपमा उभ्याउने कलाकारहरुको प्रशस्त उदाहरण पाउन सकिन्छ । गीतको भावमा आफूलाई ढाल्दै अभिनयमार्फत् शब्द–शब्दमा आफूलाई समाहित गर्नु पनि चानचुने कुरा होइन ।

    चर्चित म्युजिक भिडियो तथा फिल्म निर्देशक स्व. आलोक नेम्वाङले एउटा अन्तर्वार्तामा भनेका थिए, “गीतको भिडियो छोटो हुन्छ तर त्यसको मर्म फिल्मको भन्दा गहिरो र मार्मिक ।” हुन पनि करिब ५ मिनेटको भिडियोमा एउटा सिङ्गो कथा प्रस्तुत गरिएको हुन्छ भिडियोमा । भिडियोलाई प्राविधिक रुपमा अझ स्तरीय बनाउनका लागि त्यसको कथा, पात्र र चरित्रहरुको पुर्नस्थापना गर्नकै लागि हप्तै लगाएर भिडियो छायांकन गर्ने प्रचलन छ ।

    नेपाली संगीतमा विदेश

    ‘विदेश जाने मायालु तिमीलाई सम्झना बारम्बार छ मेरो’,
    ‘तिमीलाई हङकङ पुर्यायो आईडी काडैले’,
    ‘छ न त विदेशको पीआर छ’

    नेपाली संगीतमा विदेशका भाव प्रकट भएका गीत प्रशस्त छन् । परिवारलाई सुख दिदै भविष्य सुन्दर बनाउने कल्पनामा विदेश जान बाध्य युवायुवतीहरुको मर्मलाई समेटिएको गीतले यथार्थता झल्काउँछ । हङकङलाई पनि संगीतको पृष्ठभूमि बनाएका गीतहरु प्रशस्त छन् । आईडीको लोभमा मायाप्रेम दाउमा लगाएका कथा र माया प्रेमलाई आईडीको भाउसँगै तौलिएका कथाहरु संगीतमा मज्जाले समेटिएका छन् ।

    हङकङलाई कर्मथलो बनाएका गायक, संगीतकार र रचनाकारहरुको संख्या पनि मनग्य छ । विदेशी भूमि, काम गर्नैपर्ने बाध्यता र असन्तुष्टीहरुलाई कतिपयले संगीतमार्फत् प्रस्तुत गरिरहेका छन् । बचेको समयमा गीत रेकर्ड गर्ने, स्थानीय कार्यक्रमहरुमा प्रस्तुति दिने लगायतका क्रियाकलापहरुले पनि संगीत मर्न नदिएको बताउँछन् संगीतका सहयात्रीहरु ।

    संगीतमा हङकङेली फ्रेम

    प्राकृतिक मनोरम दृश्य, सफा सडक, गगनचुम्बी भवन, निलो समुद्र र आधुनिकता नै हङकङका प्रमुख आकर्षण हुन् । नेपाली गीतका सयौं भिडियो हङकङका यिनै पृष्ठभूमिलाई आधार बनाएर निर्माण गरिएको छ ।

    माया, प्रेमसँगै अनेकन कथा समावेश गरिएको भिडियो हङकङको लोकेशनमा तयार भए, ती गीतहरुले दर्शकहरुको मन मात्र जितेनन् नेपाली संगीतमा अन्तर्राष्ट्रिय आधुनिकता र मनोरम दृश्यको मज्जा पनि लिन पाए दर्शकहरुले ।

    म्युजिक भिडियो निर्माण हुनका लागि चाहिने अत्यावश्यक सामग्रीहरुको आवश्यकता परिपूर्तिका लागि सहज र यातायातको सहजता जस्ता कारणले म्युजिक भिडियोको निर्माण सहज छ । हङकङमा समयको मात्र अभाव हो, अन्य कुराहरु यहाँको कानुनतः तय भएको स्थानहरुमा सुटिङ गर्र्दा कुनै पनि अप्ठ्याराहरु झेल्नु नपर्ने, भिडियो निर्माणमा संलग्नहरु बताउँछन् ।

    हङकङको व्यस्त समयको बावजुद भिडियो निर्माणमा निरन्तर लागिरहेकाहरु विश्वासका साथ भन्छन्, “हाम्रो यो प्रयास सम्पूर्ण नेपालीहरुका लागि नौलो र फरक प्रकृतिको हुनेछ ।”

    उत्कृष्ट फोटो, भिडियोग्राफीबाट हङकङको नेपाली समुदायमा छुट्टै पहिचान बनाएको ज्याप स्टुडियोले दुई दर्जन बढी म्युजिक भिडियो खिचिसकेको छ । नेपाली संगीतलाई हङकङको मनोरमता दिने प्रयासमा निरन्तर लागि रहेको ज्यापले समयक्रमसँगै आएका आधुनिक प्रविधिलाई प्रयोग गर्दै भिडियोलाई गुणस्तर दिने प्रयास गरिरहेको हुन्छ ।

    “पत्रकारितासँगै स्टुडियोलाई आधुनिक र गुणस्तरीय बनाउने प्रयासमा निरन्तर लागि रहेको छु”, ज्यापका प्रोप्राइटर विक्रम गुरुङ भन्छन् । हङकङको फरक पृष्ठभूमिमा नेपाली संगीतलाई मिसाउँदा एकप्रकारको आधुनिक रौनक आएको पाउँछु । भिडियोमा खिच्नका लागि नेपालमा पाइने दृश्य र हङकङमा पाइने दृश्यमा के भिन्नता छ ? भन्ने प्रश्नमा विक्रम भन्छन्, “हङकङमा हरेक स्थानलाई विशेष महत्वका साथ श्रृङ्गारिएको छ । सडक, पार्क, समुन्द्रका किनार र डाँडाकाँडा, सबै मानवनिर्मित बनोटका विभिन्न आकर्षक कलाहरुले चिटिक्क पारिएका छन् । प्राकृतिक डाँडा र समुद्रका किनारमा समेत घुमन्तेहरुका सुरक्षा र आकर्षणका लागि विभिन्न प्रकारका व्यवस्थापनहरु गरिएको हुन्छ । नेपालको हरेक स्थान प्राकृतिकताले सजिएको छ । तुलनात्मक रुपमा नेपालको सुन्दरतासँग विश्वको कुनै पनि सुन्दरता तुलना गर्न सकिन्नँ तर भिडियोमा देखिने हङकङका ग्रामीण क्षेत्र, प्राकृतिक तलाउ र डाँडाहरुले नेपालको झल्को अवश्य दिन्छ ।”

    नेपाली भाषा, साहित्य र कलालाई विदेशी भूमिमा बसेर पनि आफ्नो तर्फबाट अक्षुण्ण राख्नका लागि भिडियो निर्माणमा होमिएको उनी बताउँछन् । विभिन्न जातजाती, धर्म र संस्कृतिमा आधारित भिडियो खिचे पनि आफ्नै समुदाय गुरुङ संस्कृतिमा आधारित भिडियो बनाउन नपाएको गुनासो गर्छन् विक्रम । “चाँडै केही मनले रोजेका विषयहरुमा भिडियो निर्माणको लागि वर्कआउट गरिरहेको छु”, उनी भन्छन् ।

    विक्रम थप्छन्, “नेपालमा भिडियो निर्माण र खिचाईमा जति सजिलो छ, यहाँ छैन । हरेक स्थानमा आफ्नै प्रकारको नियम छ, त्यसका लागि विशेष अनुमति लिनु पर्दछ । साधारण स्थानमा बाहेक विशेष तयारीका साथ भिडियो लिने हो भने त्यसले स्थानीय व्यक्ति, चराचुरुङ्गी र जनावारहरुलाई खलल पुग्ने÷नपुग्ने भन्ने विषयमा संवेदनशील हुन आवश्यक छ ।”

    नेपाली लोकफ्लेवरका गीतको भिडियोको लागि हङकङको डाँडाकाँडा नै उपयुक्त लाग्ने बताउँछन् उनी । गीतको भिडियोलाई गुणस्तरीय बनाउनका लागि प्रविधिको जति महत्व हुन्छ, त्यति नै लोकेशन र प्रस्तुतिको पनि । विक्रम भन्छन्, “हाम्रो प्रयास नै नेपाली संगीतमा आधुनिकता र प्राकृतिक मनोरमताको दृश्य समावेश गर्नु हो । ईन्टरनेटको तीव्र विकाससँगै विश्वलाई स्मार्ट फोनमा हेरिरहेका नयाँ पुस्ताहरुलाई नेपाली गीतको भिडियोले तान्न सकोस् ।”
    सयौं म्युजिक भिडियो निर्देशन गरिसकेका युगल पोमो लिम्बू हङकङ आएको धेरै भएको छैन । २ वर्षमा उनले दुई दर्जन बढी भिडियो हङकङकै लोकेशनमा निर्देशन गरिसकेका छन् ।

    लिम्बू भन्छन्, “हङकङमा त्यो अलौकिक दृश्यहरुको भण्डारण छ, जसको आधा पनि प्रयोग गर्न सकेका छैनौं । गीतको प्रेमिल भाव, संवेग र प्राकृतिकता सबै यहाँको दृश्यमा अटाउन सकिन्छ । प्रचुर आधुनिकता होस् कि अद्भूत प्राकृतिक आवरण या त निलो समुन्द्रको मौनता सबै प्रकारका दृश्य यहाँ उपलब्ध छन् ।”

    गगनचुम्बी भवन, मानिसहरुको भीड र समुन्द्रको दृश्यले गीतको भावलाई अझ बुझाउनका लागि थप बल प्रदान गर्छ । युगल भन्छन्, “हङकङमा समयको महत्व अधिक छ, तर साथीभाईको सहयोग र प्रेरणाले लगभग १ देखि २ हप्ताको समयावधिमा हामी भिडियो सक्छौं । कामसँगै बचेको समय भिडियो निर्माणमा लगाएका छौं, आशा छ हाम्रो कामलाई दर्शकहरुले मूल्याङ्कन गरिरहनुभएको छ ।”

    फराकिलो फाँट, प्राकृतिक वनजङ्गल, परम्परागत मौलिक घर, हिमाली भेग लगायतका दृश्य नेपालको विशेषता हो, हङकङमा रहेका प्राकृतिक डाँडा, साना तलाउ र पुराना बस्तीहरुलाई नेपालीपन दिने प्रयास गर्छौैं । नेपाली संगीतको भावलाई यी विदेशी दृश्यमा समायोजन गरी नेपालीपन दिनु पनि भिडियो निर्माणको रमाइलो पक्ष लाग्छ । युगल भन्छन्, “नेपालमा हामीले प्रोफेशनल ढङ्गले काम गथ्र्याैं तर हङकङमा मैले निर्देशन मात्र होइन; मेकअप, कोरियोग्राफी सबै गर्नुपरेको छ । वास्तवमा भिडियोमा बिहान एकपल्ट गरेको मेकअपले दिनभरी धान्न सक्दैन । पात्र, चरित्र र शब्दको भावभङ्गीमा आधारित मेकअप र दृश्य समायोजनले मात्र भिडियो उत्कृष्ट बन्न सक्छ ।

    भिडियो निर्देशनबाट खारिएका युगलले पहिलोपटक चलचित्र ‘नेचर गाई’को निर्देशन गरे । हङकङका नेपालीहरुको कथा र दृश्यलाई कुनै दिन ठूलो पर्दामा देखाउने रहर छ उनको । युगल भन्छन्, “सबैको साथ र प्रेरणा पाएको छु, आशा छ क्रियशनको दुनियाँमा हङकङ र नेपाललाई जोड्ने कलाको यावत् कामहरु समयक्रमसँगै गर्ने नै छु ।”

    लिम्बू भाषा, संस्कृतिमा आधारित फिल्म, म्युजिक भिडियो, वृत्तचित्र निर्माणमा निरन्तर लागिरहेका मौसम ईम्बुङ लिम्बूले आफ्नै अलग्गै पहिचान स्थापित गरेका छन् । संसारैभरीका नेपालीहरुमाझ ‘फुलन्देको बाउ’ उपनामले चिनिने मौसमले निर्माण, लेखन र निर्देशन गर्ने अधिकांश भिडियोहरुमा मौलिकता पाइन्छ । उनी भन्छन्, “भिडियोले इतिहास बोल्नुपर्छ, मैले निर्देशन, लेखन र निर्माण गरेका फिल्म, म्युजिक भिडियोहरु नयाँ पुस्ताका लागि हाम्रो इतिहास देखाउने र बुझाउने सामाग्री बनुन् ।”

    विगत एक दशकदेखि हङकङलाई कर्मथलो बनाएका मौसमले निर्देशन मात्र होइन, म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । भिडियो निर्माणका लागि नेपालमा जति सहज नभएको उनी बताउँछन् । हङकङमा विनाअनुमति जहाँ पनि भिडियो खिच्न पाइँदैन, यहाँका समुन्द्र, डाडाँकाँडामा र खुला ठाउँहरुमा प्रायः हामी भिडियो निर्माण गर्ने गर्दछौं ।

    मौसम भन्छन्, “मैले निर्देशन र अभिनय गर्ने प्रायः भिडियोहरु लिम्बू भाषाका मौलिक गीतहरुमा हुन्छन् । यहाँका गगनचुम्बी भवन, व्यस्त सडक र भीडभन्दा पहाड, तलाउ र हरिया डाँडाहरु हाम्रो भिडियोको दृश्य बन्छन् ।

    समयको अभाव, दक्ष जनशक्तिको कमी, चिनियाँहरुसँग काम गर्नका लागि भाषाको समस्या लगायतका यावत् कारणहरु छन् जसले गर्दा हामीले उत्कृष्ट विदेशी प्रविधि प्रयोग गर्न पाएका छैनौं । नेपाली दक्ष कलाकार, प्राविधिकहरु समेत हङकङ आउनु भएको छ तर समयको अभाव र काम गर्नैपर्ने बाध्यताले एकजुट भएर भिडियो निर्माणको काम गर्न सकिएको छैन ।

    केही समय अघि मात्र चलचित्र ‘घरजम’ निर्देशन गरेका मौसम भन्छन्, “चलचित्रबाट दर्शकहरुको पर्याप्त वाहवाही पाएँ । लिम्बू भाषा हाम्रो मात्र संस्कृत होइन, सम्पूर्ण नेपाल र नेपालीहरुकै ऐतिहासिक मूल्य र मान्यता हो । हङकङमा मैले आधा दर्जनभन्दा बढी लिम्बू तथा नेपाली भाषाका म्युजिक भिडियो, लघु चलचित्रहरुमा अभिनय, निर्देशन र लेखन गरें, सबैमा आफ्नो परम्पराको केही अंश प्रस्तुत गरेको छु ।”

    हङकङको विविध प्राकृतिक र मानव निर्मित सुन्दरतालाई नेपाली संगीतको मानकमा रौनक दिन बाँकी नै छ । अझ हामी केही विशेष कामहरु गर्दैछौं, जसले नेपाली दर्शकहरुलाई अवश्य गुणस्तरसँगै नौलो स्वाद दिनेछ ।

    तस्वीर श्रोत: सम्बन्धित व्यक्तिहरुको फेसबुक ।

  • कमेन्ट गर्नुहोस्