• दुई च्याम्बरबीच सम्झौता

  • अप्रिल १३ । नेपाल च्याम्बर अफ कमर्स हङकङ (एनसीसीएचके) र पोखरा च्याम्बर एण्ड कमर्स एण्ड इन्डस्ट्रि (पीसीसीआई)बीच एक सम्झौता भएको छ । क्यान्टोन फेयर ग्वानझाउमा भाग लिएर यहाँ आइपुगेको २८ सदस्यीय टोलीको स्वागतमा आयोजित कार्यक्रममा उक्त सम्झौता भएको हो ।

    १२ बुँदे सम्झौतापत्रमा नेपाल र हङकङ तथा चीनमा हुने व्यापारिक मेला, प्रदर्शनी, सेमिनार, तालिमलगायतलाई प्राथमिकता दिइएको छ । उक्त कार्यक्रम लगायतमा दुई पक्षीय सहयोग आदानप्रदान गर्ने उल्लेख गरिएको छ । दुई संस्थाबीच व्यापारिक अवसरका लागि सञ्जाल विस्तार र गतिविधिको आयोजनालाई सम्झौतापत्रमा जोड दिइएको छ ।

    एनसीसीएचकेका अध्यक्ष डासु राम पराजुली र पीसीसीआईका अध्यक्ष विश्व शंकर पलिखेद्वारा हस्ताक्षरित सम्झौतापत्र नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईको उपस्थितिमा आदान–प्रदान भएको हो । उक्त अवसरमा लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए, उनी पारिजात स्मृति दिवसका लागि यहाँ आएका छन् ।

    बगैंचा रेष्टुरेण्टमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पीसीसीआईका अध्यक्ष पलिखेले हङकङ र चीन सरकारको नजरमा एनसीसीएचकेको छवी राम्रो रहेको अनुभव सुनाउँदै त्यसलाई बचाई राख्न सम्बन्धितलाई आग्रह गरेका थिए । उपाध्यक्ष लवकुमार गुरुङको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सचिव गोकर्णप्रसाद ढकालले सञ्चालन गरेका थिए ।

    दुई अध्यक्ष सम्झौतापत्र आदानप्रदानको क्रममा बीचमा कन्सुल जनरल कमलप्रसाद भट्टराई । तस्बीरः एभरेष्ट ।

  • कमेन्ट गर्नुहोस्